हेटौंडाको नारायणी संघमा आईपुगे सिडिओ
मकवानपुर । यातायात व्यवसायीहरुको छाता संगठन नारायणी संघ (पुरानो नारायणी कम्पनी प्रा.लि.) ले प्रमुख जिल्ला अधिकारीका रुपमा अघि आईपुगेका सूर्यप्रसाद सेढाईंको स्वागत कार्यक्रम गर्दै आज अन्तक्र्रिया गरेको छ । एकसाता अघि जिम्मेवारी सम्हाल्न आईपुगेका प्रजिअ सेढाईंसँग यातायात व्यसायीहरुले सवारी साधन सञ्चालन गर्दा आईपरेका विभिन्न समस्या, चुनौतिहरुको बारेमा अन्तक्र्रिया गरेका थिए । व्यवसायीहरुले १४ बर्ष अघि गरिएको सवारी दुर्घटना विमा सुविधा रकमलाई समयानुकुल पुनर्मूल्याङ्कन गर्नु पर्ने औंल्याएका थिए ।
२०६६ सालमा सवारी दुर्घटनाको घाईतेको उपचार खर्च ३ लाख र मृत्यु भएकाहरुको परिवारलाई ५ लाख विमाले व्यहोर्ने भएपनि यसलाई समयसापेक्ष बनाउनु पर्ने आवश्यकता भएको बताएका थिए । प्रमुख जिल्ला अधिकारी सेढाईंले व्यवसायीहरुको आवाजलाई सम्बन्धित निकायमा पुर्याउने र यो विषयमा यातायात व्यवसायीसँग पुनः छलफल गरिने बताएका छन् । प्रजिअ सेढाईंले सामाजिक योगदानका लागि संघलाई हातेमालो गर्न आग्रह पनि गरेका छन् ।
संघका कार्यवाहक अध्यक्ष अशोक पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईं लगायत संघका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।











