उच्च अदालत हेटौंडा इजलासबाट यो बर्ष १३ सय १२ मुद्दा किनारा
मकवानपुर । हेटौंडामा रहेको उच्च अदालत पाटन, हेटौंडा इजलासको हेटौंडा इजलासबाट आर्थिक बर्ष २०७९/८० को अवधिमा १ हजार ३ सय १२ मुद्दा फछर्यौट भएको छ । हेटौंडा इजलासमा परेको १ हजार ७ सय ४१ मुद्दा मध्ये ७५ दशमलब ३६ प्रतिशत मुद्दा किनारा लागेको हेटौंडा इजलासमा आज भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । हेटौंडा इजलासमा सबैभन्दा बढी लागूऔषध सम्बन्धि मुद्दा आएको जनाएको छ । हेटौंडा इजलासमा यो बर्ष लागूऔषधका २ सय ८९ मुद्दा परेको थियो । सर्वोच्च अदालतले फरक मुद्दा व्यवस्थापन प्रणाली (डिसीएम) लागू गरेपछि पुराना मुद्दा फछर्यौट हुने गरेको हेटौंडा इजलासले जनाएको छ ।
पत्रकारहरुसँग आज गरिएको अन्तक्र्रियामा मुख्य न्यायधीश अब्दुल अजिज मुसलमानले अदालतको पेशी गोलाप्रथाद्वारा न्यायाधीश छनौट हुने हुनाले पारदर्शितामा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । उनले कुनैपनि मुद्दा मुख्यन्यायाधीशको नियन्त्रणमा नरहेको र कुन मुद्दा कुन न्यायाधीशको इजलाशमा परेको भन्ने समेत थाहा नहुने भएकाले न्यायाधीश र विचौलियाको साठगाठ शुन्यः प्राय भएको जीकिर गरेका छन् ।
डिसीएम प्रणालीले ६ महिनादेखि १८ महिनाभित्रै मुद्दा किनारा लगाउनु पर्ने र मुद्दा किनारा नलागे त्यसको जवाफ माथिल्लो अदालतमा लिखित रुपमै स्पष्टिकरण दिनु पर्ने भएपछि मुद्दा फछर्यौटको सङ्यामा बढोत्तरी भएको जनाएको छ । हेटौंडा इजलासमा यो बर्ष सबैभन्दा पुरानो मुद्दा २०७८ मङ्सिर २१ गतेको रहेको थियो । हेटौंडा इजलास शुरु भएदेखि यस इजलासमा २३ हजार मुद्दा आईपुगेको जनाएको छ । उच्च अदालत हेटौंडा इजलासले सेवाग्राहीलाई अदालत सम्बन्धि जानकारी, प्रतिलिपी, मुद्दा दर्ताको लागि बढीमा ६० मिनेट भन्दा बढी समय नलाग्ने व्यवस्था मिलाईएको जनाएको छ ।