पौष ६ र ७ गते हेटौंडामा “कमाने महोत्सव” हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा कमाने महोत्सव हुने भएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले पौष ६ र ७ गते दुईदिने व्यापार प्रवर्द्धन तथा प्रदर्शनी (कमाने महोत्सव) हुने भएको हो । वडाभित्रको स्थानीय व्यापार, व्यवसाय, साँस्कृतिक पहिचान, टोल विकास संस्थाको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको महोत्सवका संयोजक विष्णुप्रसाद अर्यालले बताएका छन् ।
प्रदर्शनीमा ७० वटा व्यापारिक स्टलहरु रहने प्रदर्शनी वडा नम्बर ८ को मुख्य सडकको निमचोक देखि सागरचोक सम्मको सडक किनारामा प्रदर्शनी हुने महोत्सव प्रचारप्रसार संयोजक सुदीपराज गिरीले बताएका छन् ।
प्रदर्शनीमा स्थानीय उत्पादनको खानाको परिकार, साँस्कृतिक कार्यक्रमहरु समेत हुने महोत्सव आयोजक समितिका सदस्य विपिन घिमिरेले जानकारी दिएका छन् । “कमानेको किनौं, कमानेलाई चिनौं” मूल नाराका आयोजना हुन लागेको महोत्सवमा ७ लाख रुपैंया खर्च हुने अनुमान गरिएको वडा अध्यक्ष रामकृष्ण थापाले जानकारी दिएका छन् । महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको महोत्सव आयोजक कमिटीले जनाएको छ ।