हेटौंडामा तीनदिने सडक खाना महोत्सव हुने
मकवानपुर । हेटौंडाको हुप्रचौरमा सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन मकवानपुरको आयोजनामा पौष १३ गतेदेखि १५ गतेसम्म तीन दिन सडक खाना महोत्सव हुने भएको हो । २०६५ सालदेखि गरिँदै आएको महोत्सव २०७६ सालयता हुन नसकेकोमा यो वर्ष आयोजना गर्न लागिएको एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिएका छन् ।
सडक खाना महोत्सवले स्थानीय परिकारका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाऊ पुग्ने आयोजकले जनाएको छ । “सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारासहित आयोजना गर्न लागिएको महोत्सवमा ११ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ भने, महोत्सव स्थलमा ४० वटा स्टलहरु रहने बताइएको छ । प्रति स्टल सातहजार पाँचसय रुपैंया शुल्क निर्धारण गरिएको छ ।











