पूर्वडीआईजी शाह भ्रष्टाचारी ठहर

हेटौडा न्युज
१२ पुष २०८०, बिहीबार १४:२२
;

सिन्धुली । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा तालिमरत प्रहरी जवानहरुको तलब भत्ता अनियमिततामा अवकाशप्राप्त डीआईजी महेशविक्रम शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । शाहले ३० वर्षे सेवा अवधिका कारण २०७६ माघमा अवकाश पाएका थिए ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्व डीआईजी शाहसँगै पूर्व सई दीपेन्द्रप्रसाद पनेरुलाई समेत दोषी ठहर गरेको छ ।

२०७२ साल वैशाख २७ गते भर्ना भएका प्रहरी जवानहरुको तालिम पश्चात माघबाट दरबन्दी रहेको कार्यालयबाटै तलबभत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो । तर २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च देखाएर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो । १ सय ३ जना प्रहरी जवानको तलब भत्ता वापत ३१ लाख ८८ हजार र नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ लाख ४९ हजार गरी जम्मा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप अख्तियारले लगाएको थियो । तीन बर्षभन्दा बढी सजायको निर्धारण छुट्टै गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आउँदो पुष २५ मा सजाय सुनाईने भएको छ । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रणका लेखापाल सञ्जीव विशुंखेले सफाइ पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*