सर्वोच्चद्वारा नारायणी संघलाई मान्यता

मकवानपुर । सर्वोच्च अदालतले नारायणी यातायात व्यवसायी संघलाई ब्युताउने फैसला गरेको छ । २०७५ साल बैशाख ४ गते २०३४ अनुसार दर्ता भएका यातायात क्षेत्रसंग सम्बन्धित संघसंस्था खारेजीको निर्णय तत्कालिन नेपाल सरकारले गरेको थियो । तत्कालिन सरकारले त्यस्ता संघसंस्थालाई कम्पनी ऐन बमोजम कार्य गर्नुपर्ने र संस्थाको चलअचल सम्पत्ति नेपाल सरकार मातहत हुने निर्णय भएपछि नेपाल ट्रक यातायात व्यवसायी संघले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
सर्वोच्च अदालतले हिजो रिटमाथिको सुनुवाईमा संघको पक्षमा फैसला गर्दै २०३४ बमोजिम नै दर्ता कायम हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाले आफूहरुले न्याय पाएको भन्दै संघले आज हेटौंडामा दीप प्रज्वलन गरेको छ ।
दीप प्रज्वलन कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले यातायात व्यवसायीको तर्फबाट सर्वोच्च अदालतलाई धन्यवाद दिंदै अदालत प्रतिको विश्वास अझ बढेको प्रतिक्रिया दिएका थिए । संघलाई खारेज गरेपछि कम्पनी ऐन अनुसार आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको थियो । संस्था दर्ता ऐन २०३४ अनुसार २०३६ सालमा हेटौंडामा केन्द्रीय कार्यालय रहने गरी नारायणी यातायात व्यवसायी संघको स्थापना भएको थियो ।