हेटौंडामा पौने ३ करोडको भेप सहित ५ जना पक्राउ

मकवानपुर प्रहरीले गएराति इलेक्ट्रीक चुरोट (भेप) सहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जानका लागि आउँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छली ल्याएको सो परिमाणको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौैंडा– ११ थानाभर्याङमा सो बसलाई चेक गर्दा बसमा लुकाइ ल्याएको करिब दुई करोड, ७१ लाख, २१ हजार ७ सय ८० रुपैँया रकम बराबरको ५८ कार्टुन भेप (इलेक्ट्रिक चरोट) प्रहरीले फेला पारेको हो ।
प्रहरीका अनुसार ३६ सिट क्षमता भएको सो बसमा २३ जना पेसेन्जरलाई काठमाडौं देखि भारतको दिल्लीसम्म लैजाने गरी आएको जनाएको छ । पेसेन्जर बस्ने सिट माथि फल्स बटम बनाइ भेपका कार्टुनहरु राखिएको प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेमा बस चालक दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ बस्ने २७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ११ बस्ने २७ वर्षीय प्रविन्द्र राना, धनकुटा बेलरा नगरपालिका वडा नं. १६ बस्ने २९ बर्षीय राजकुमार हिमाङ, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ७ बस्ने ३९ बर्षीय ईन्द्र बहादुर जर्सी र सोहि स्थानका ३० बर्षीय सन्तोष भुषाल रहेको प्रहरीले जनाएको छ ।
पक्राऊ परेकाहरुले काठमाडौंको बालाजू, भत्केको पुल नजिकको रमाईलो डाँडाबाट लोड गरेको र यस अघि पनि पटकपटक अवैध सामान भारत पुर्याउने गरेको बयान दिएको मकवानपुर प्रहरीले जनाएको छ । सो बसले यात्रुहरुलाई पर्यटकका रुपमा भारत लैजाने गरी गत असार ५ गते भारतीय दुताबासबाट बाटो इजाजत लिएको फेला परेको छ ।