बैसठ्ठी लाख अवैध रकमसहित तीन जना पक्राऊ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले श्रोत नखुलेको १४ हजार युरो र ३२ हजार अमेरिकी डलर सहित ३ जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेहरुमा भारतीय नागरिक बिजय सिंह कुशवाह, प्रशान्त पाठक र राहुलकुमार माण्डावत रहेका छन् । उनीहरुबाट नियन्त्रणमा लिएका विदेशी मुद्राको आजको बजार भाउ अनुसार ६२ लाख ९० हजार ३५ रुपैया रहेको प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
हेटौंडा–१ स्थित त्रिभुवन राजपथ सडक खण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो भ्यानमा यात्रारत उनीहरुबाट सो अवैध रकम फेला परेको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताएका छन् । पक्राऊ परेकाहरुलाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाइने भएको छ ।










