विद्यालय शिक्षामा स्टिम अवधारणाबारे हेटौंडामा छलफल

हेटौडा न्युज
२२ मंसिर २०८१, शनिबार १८:३४
;

मकवानपुर/विद्यालय शिक्षामा स्टिम अवधारणाको प्रयोगका सन्दर्भमा छलफल कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ । एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा भएको कार्यक्रममा शिक्षण सिकाइमा स्टिम अवधारणाको प्रयोगका विषयमा हेटौंडाका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बालबालिकालाई प्रयोग र व्यवहारमा आधारित शिक्षा प्रदान गर्नका लागि सिकाइको स्टिम अवधारणालाई पछिल्लो समय प्रभावकारी विधिका रुपमा लिइन्छ । छलफलमा सहभागीहरूले सबै विद्यालयहरूले यो अवधारणालाई पछ्याउँदै सिकाइलाई जीवन्त बनाउन सकिने विचार व्यक्त गरेका थिए ।

कार्यक्रमको मूख्य वक्ता प्राध्यापक हेमराज काफ्लेले शैक्षिक क्षेत्रको नेतृत्व र शिक्षाको सुधारमा यसको भूमिकाका विषयमा प्रष्ट पारेका छन् । उनले नेतृत्वको कार्यक्षमता वृद्धिमा सञ्चार सीपले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

यस्तै काठमाडौं विश्वविद्यालयका स्टिम विभाग प्रमुख विनोदप्रसाद पन्तले स्टिम अवधारणामा विद्यालयमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए । कार्यक्रमका अर्का वक्ता शिक्षाका लागि राष्ट्रिय अभियानका अभिषेक घिमिरेले शैक्षिक सुधारका लागि देशमा भइरहेका नवीनतम प्रयासहरूका बारेमा जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले फाउन्डेसनले गरिरहेका कार्यको प्रशंसा गर्दै युग सुहाउँदो शिक्षाका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् । उपमहानगरपालिकाले शिक्षाको विकासका लागि आगामी दिनमा योजना बनाएर अघि बढ्ने र यसका लागि सम्बद्ध सबै सरोकारवालाहरूसँग हातेमालो गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

सो अवसरमा मकवानपुरमा शिक्षामा स्टिम अवधारणाको प्रयोगका लागि भइरहेका प्रयासका बारेमा आयोजक एस्ट्रोनोभा फाउन्डेसनका संस्थापक किशन वास्तोलाले जानकारी गराएका थिए ।  फाउन्डेसनले हाल सूचना प्रविधिमा आधारित विभिन्न तालिमहरूको आयोजना गरिरहेको छ । यस्तै पछिल्लो समय ३० जना स्टिम प्रशिक्षक तयार गर्नका लागि प्रशिक्षण कार्यक्रम भइरहेको वास्तोलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*