किताब पढेर मेयरले गरे अभिभावक दिवस उद्घाटन

मकवानपुर/हेटौँडा उपमहानगरपालिका १८, खड्कुलेमा रहेको मकवानपुर बाल विद्या सदन (एमबीबीएस) विद्यालयको १८ औँ अभिभावक दिवस सम्पन्न भएको छ ।
शनिबार विद्यालयको प्राङ्गणमा सम्पन्न अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मिनाकुमारी लामाले कार्यक्रमको औपचारिक उद्घाटन किताब पढेर गरिन् । बालसाहित्य सर्जक यशु श्रेष्ठद्वारा लिखित महिनावारी सम्बन्धि चेतनामूलक चित्रपुस्तक ‘मेरो रातो’ वाचन गरेर नगरप्रमुख लामाले कार्यक्रमको उद्घाटन गरेकी हुन् । पहिलोपटक रजस्वला हुँदै गरेकी बालिकाको अनुभवमा आधारित सो पुस्तक वाचन गर्दै गर्दा कार्यक्रममा किताबका लेखक श्रेष्ठसहित ३ सयभन्दा बढी अभिभावक उपस्थित थिए ।
नगरप्रमुख लामाले यस किसिमको सिर्जनात्मक कार्यक्रमको प्रशंसा गरेकी छिन् । यस्तै विद्यालयले कार्यक्रममा आमन्त्रित अतिथिहरूलाई ‘मायाको कोसेली’स्वरुप विद्यालयका विद्यार्थीहरूले नै उत्पादन गरेको आलु र चामल प्रदान गरेका छन् । विद्यालय प्राङ्गणमै प्रयोगात्मक सिकाइ कक्षा अन्तरगत धान तथा आलु खेती गरेका थिए ।
सोही अवसरमा लेखक यशु श्रेष्ठसँग बालबालिकाहरूको पठन संस्कृतिका विषयमा छलफल समेत गरेको छ । बालसाहित्यका क्षेत्रमा २ सय भन्दा बढी किताब प्रकाशित गरिसकेका श्रेष्ठले अबको समय बालबालिका मात्र नभई अभिभावकले समेत बालसाहित्यको अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । बालबालिकाले किताब पढ्नुमात्र ठुलो कुरा नभएको भन्दै उनले पढेका कुरालाई व्यवहारमा उतार्न अभिभावक र विद्यालयले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले सो अवसरमा सिप सिकाई साता कार्यक्रममा विभिन्न विधामा बालबालिकालाई सहजीकरण गरेका प्रशिक्षकहरूलाई सम्मानित गरेको छ । यस्तै सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने कक्षा ३ का विद्यार्थी दृष्य अधिकारीलाई ‘बुक र्याक’ उपहार प्रदान गरेको छ ।
हेटौँडा १८ का वडाध्यक्ष अनिल कुमार बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य विष्णुमाया थपलिया, प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, प्याब्सन हेटौँडा उपमहानगरपालिका अध्यक्ष रामकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यालयलाई विभिन्न कार्यक्रममा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।