मकवानपुरगढीमा रेडियो मकवानपुरको स्वास्थ्य शिविर

हेटौडा न्युज
१९ माघ २०८१, शनिबार २१:२१
;

मकवानपुर/रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा मकवानपुरगढीमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मकवानपुरगढी ४ मा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा १४४ जनाले सेवा लिएका छन् ।
रेडियोको १५ औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थको २७ औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत  हेटौँडा ६ मा रहेको सिद्धस्थली ग्रामीण अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर भएको हो ।
शिविरमा विशेषगरी रक्तचाप र मधुमेहका बिरामीको परीक्षण गरिएको थियो । रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका व्यवस्थापक गोमा गौतम, स्थानीय समाजसेवी सर्कलाल लो, रेडियो मकवानपुरका पोष्टराज अधिकारी कुमार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सामुदायिक रेडियो हुनुको कर्तव्य पूरा गर्ने क्रममा प्रत्येक वर्ष सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष पराजुलीको भनाई थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनले बताए । अस्पतालका व्यवस्थापक गौतमले रेडियोसँग सहकार्य गर्दै स्वास्थ्य शिविरको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्ने बताइन् ।
रेडियोले माघ १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विविध कार्यक्रमको आयोजना गरिरहेको छ । आइतबार हेटौँडाको एक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण, २१ गते मिडिया कप फुट्सल प्रतियोगिता र २२ गते सामुदायिक सम्मान तथा सप्ताहव्यापी कार्यक्रमको समापन रहेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*