हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु

गृहमन्त्रीले निर्माण व्यवसायीलाई भने – ‘भुक्तानी आउँछ, काम नरोक्नुस्’
हेटौडा न्युज
६ फाल्गुन २०८१, मंगलवार १६:५०
;

मकवानपुर/नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गुणस्तरीय  निर्माणमा ध्यान दिन निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन् । मंगलबार हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गरेर उदाहरणीय बन्न पनि व्यवसायीहरूलाई अनुरोध गरे ।

मुलुकको विकासका लागि निर्माण व्यवसायीहरु महत्त्वपूर्ण अङ्ग भएको बताउँदै गृहमन्त्री लेखकले उनीहरूको सुरक्षाका विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको महत्त्वपूर्ण भुमिका रहेको समेत लेखकले बताए ।

देशमा लगानीमैत्री वातावरण बनाउन र सेवाप्रवाहको क्षेत्रमा भएका नीतिगत जटिलता हटाउनका लागि सरकार लागिपरेको तर त्यसका लागि सरकारले ल्याएका अध्यादेशहरू संसदबाट पारित हुनु जरुरी रहेको गृहमन्त्रीको भनाइ थियो ।

निर्माण व्यवसायीहरूले निरन्तर उठाउँदै आएको निर्माण सम्पन्न भइसकेका योजनाहरूको रोकिएको भुक्तानीका सम्बन्धमा बोल्दै गृहमन्त्री लेखकले प्राथमिकताका आधारमा पहिले रोकिएका कामको भुक्तानी सरकारले दिइरहेको बताए । ‘सरकारले कामको भुक्तानी दिन्छ; त्यसको सुनिश्चितता सरकारका तर्फबाट म गर्छु । तपाईँहरू काम नरोक्नुस् ।’ उनले भने ।

महोत्सवको उद्घाटनअघि शोभा यात्राका सहभागीहरू

मकवानपुर जिल्लाको निर्माण तथा औद्योगिक क्षेत्रको प्रबर्द्धनका लागि निर्माण व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा मङ्गलबारदेखि मेला सुरु भएको हो ।औपचारिक उद्घाटनअघि हेटौँडाको हुप्रचौरबाट नगरको विभिन्न भागहरूको परिक्रमा गर्दै शोभा यात्रा आयोजना गरिएको थियो । शोभा यात्रामा निर्माण व्यवसायी, विद्यालय, विभिन्न संघसंस्था सहित नेपाल प्रहरीको ब्यान्डको सहभागिता रहेको थियो ।

मेलामा विभिन्न निर्माण सम्बद्ध कम्पनीहरूको उपकरण प्रदर्शनीका साथै औद्योगिक एवम् व्यवसायिक स्टलहरू पनि राखिएका छन् । करिब ३५० स्टल रहने मेला फागुन १८ गतेसम्म चल्नेछ ।

मेलामा बुधबारदेखि ‘हेटौँडा आइडल’का लागि छनौट भएका प्रतिस्पर्धीहरूका साथै दैनिक ख्यातीप्राप्त कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । हेटौँडा १०, टिसिएन चौरमा सुरु भएको मेलामा १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*