हेटौँडा महोत्सवमा शुक्रबार श्याम रानाले नचाउने
हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव अन्तर्गत शुक्रबार चर्चित गायक गायिकाहरूको प्रस्तुति रहने भएको छ । निर्माण व्यवसायी सङ्घ मकवानपुर र औद्योगित शान्ति नेपाल संस्थाले आयोजना गरेको मेलामा शुक्रबार लोक दोहोरी गायक तथा कलाकार श्याम रानाको मुख्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मेलामा बिहीबार गायिका ज्योति मगर, गायक नवराज घोरासैनी लगायतले दर्शकलाई भरपूर मनोरञ्जन गराएका थिए । शुक्रबार गायक तथा कलाकारहरू प्रतिमा अर्याल, एन्जिला रेग्मी, शितल शर्मा रमेश श्रेष्ठ लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिँदैछन् ।
महोत्सवमा बुधबारदेखि नै ‘हेटौँडा आइडल’का लागि छनौट भएका प्रतिस्पर्धीहरूको प्रतियोगिता समेत सुरु भैसकेको छ । हेटौँडा १०, टिसिएन चौरमा सुरु भएको मेलामा १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
मेलामा विभिन्न निर्माण सम्बद्ध कम्पनीहरूको उपकरण प्रदर्शनीका साथै औद्योगिक एवम् व्यवसायिक स्टलहरू पनि राखिएका छन् । करिब ३५० स्टल रहने मेला फागुन १८ गतेसम्म चल्नेछ ।











