सामुहिक बलात्कारको आरोपमा ७ किशोर पक्राउ

मकवानपुर/सामूहिक बलात्कार मुद्दामा हेटौँडाबाट ७ जना किशोरहरु पक्राउ परेका छन् । पक्राउ परेका सबै आरोपितहरु १८ बर्षभन्दा कम उमेरका भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पीडित युवतीले फागुन २१ गते प्रहरीमा दिएको जाहेरीका आधारमा किशोरहरू पक्राउ परेका हुन् । आरोपितमध्ये ५ जना बिहीबार र थप २ जना शुक्रबार पक्राउ परेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिरको माथी जंगलमा सामूहिक बलात्कारको घटना भएको प्रहरीले जनाएको छ ।
आरोपित किशोरहरुलाई जिल्ला अदालतबाट जबरजस्ती करणी कसुरमा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान थालिएको प्रवक्ता अर्यालले जानकारी दिए । सामूहिक बलात्कारपछि किशोरहरूले मोबाइलबाट भिडियो समेत बनाएका थिए ।