चिनियाँ प्रायोजक रद्द गर्दै आईपीएल
मुम्बई । चिनियाँ मोबाइल उत्पादक कम्पनी भिभोलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रायोजकबाट हट्ने भएको छ । भिभोले सन् २०१७ मा प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरेको थियो ।
सन् २०१५ मा दुई वर्षको प्रायोजन सम्झौता गरेपछि भिभोले सन् २०१७ मा पाँच वर्षको सम्झौता गरेको थियो। पाँच वर्षका लागि २ हजार १ सय ९९ करोड भारतीय रुपैयाँ सम्झौता भएको थियो। भिभोले यो सिजन ४ सय ४० करोड भारतीय रुपैयाँ दिने तय छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार युएईमा हुने तय सिजनको आइपिएलका लागि भिभो मुख्य प्रायोजकबाट अलग हुन लागेको हो।
भिभो हटेपछि अब भारतीय क्रिकेट बोर्डलाई नयाँ प्रायोजक खोज्ने दबाब हुनेछ ।
प्रतियोगिताको १३ औं सस्करणको मुख्य प्रायोजकबाट भिभो हट्ने समाचारलाई भारतीय मिडियाले खुबै महत्त्व दिएका छन् । भारत र चीनबीचको सम्बन्ध बिग्रेपछि भारतीय क्रिकेट बोर्डमाथि चिनियाँ प्रायोजक हटाउने ठूलो दबाब थियो । बीसीसीआईका अनुसार यस वर्षको आईपीएलको मुख्य प्रायोजकबाट हटे पनि सन् २०२१ देखि फेरि भिभोसँग सम्झौता हुन सक्नेछ ।
आइपिएलले यसअघि प्रायोजकको विषयमा नियमक काउन्सिलको बैठकमा छलफल गरे पनि कुनै निर्णय गरेको थिएन।
गत असार पहिलो साता लद्दाखको गल्वान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि चिनियाँ प्रायोजकको विषयमा रिभ्यू गर्नका लागि आइपिएलले बैठक बोलाएको थियो।
आफ्ना सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलिरहेको छ। कतिपयले आइपिएलको मुख्य प्रायोजकको विषयमा पनि प्रश्न उठाएका थिए।











