जमिन बाँझो राखेर खाद्यान्न आयात गर्न बाध्य छौंः मन्त्री लामा
मकवानपुर । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा हेटौंडामा भएको खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । बिहिबार हेटौंडामा बागमती प्रदेशका भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको संयोजन तथा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ललितपुरको सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री लामाले जमिन बाँझो राखेर खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने बताएका छन् । उनले अहिलेको अवसथामा हिमालदेखि तराईसम्म खेतियोग्य जमिन बाँझो रहेको र हामीलाई आवश्यक पर्ने खाद्यान्न भने विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको बताए । खाद्यान्नमा आत्मनिर्भर हुँदै ब्यवसायीक ढंगले कृषि कर्म गर्नसके देश समृद्ध बन्ने मन्त्री लामाको भनाई छ ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योती बानियाँले स्वस्थ खानाको अभावमा दैनिक रोगब्यादी बढ्दो रहेको बताए । ‘विषाधी रहित खानाको लागि प्रदेश सरकारले विषेश भूमिका खेल्नुपर्छ’, उनले भने, ‘प्रदेश सरकार आफैले छुट्टै ऐन बनाएर पनि कार्यान्वयन गर्न सक्नुपर्छ ।’
मञ्चका केन्द्रीय उपमहासचिव विष्णु प्रसाद तिमल्सिना र कार्यक्रमको सहयोगी संस्था नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ललितपुरका प्रमुख डाक्टर बिदुर गौतमले उपभोक्ता अधिकार र खाद्या स्वच्छताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।










