एघार दिन पछि प्रचण्ड बालुवाटारमा

हेटौडा न्युज
१५ कार्तिक २०७७, शनिबार १४:१३
;

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन । प्रचण्ड एघार दिन पछाडि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न आज (शनिबार) दिउँसो बालुवाटार पुगेका हुन् ।

गत कात्तिक ४ पछि ओली-प्रचण्ड बीच सम्वाद रोकिएको थियो । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि प्रचण्ड सम्वादमा बस्न मानिरहेका थिएनन् । प्रचण्डले आफू कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाले बालुवाटार नजाने बताउँदै आएका थिए ।

शुक्रबार मात्रै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली खुमलटार पुगेका थिए । त्यसअघि महाचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए ।

लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेका छन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव तयार लगायत निर्णयबाट प्रचण्ड ओलीसँग रिसाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*