रोपवेको जग्गामा सवारी परीक्षण कार्यालय

हेटौडा न्युज
१४ मंसिर २०७७, आईतवार १६:००
;

मकवानपुर । हेटौंडा–१ चौकीटोलमा सवारी परीक्षण कार्यालयको स्थापना हुने भएको छ । तत्कालीन रोपवेको कार्यालय रहेको परिसरमा भौतिक संरचनासहितको सवारी परीक्षण कार्यालय स्थापना हुने भएके हो ।

दुई दशकभन्दा बढी समयदेखि बन्द भएको रोपवेको खाली जमिनमा सवारी परिक्षणका लागि आवश्यक संरचना निर्माणको तयारी थालिएको हो ।

यातायात व्यवस्था विभागको नाममा बाँकी रहेको रोपवेकोे ३२ कठ्ठा जग्गामा सवारी परीक्षण कार्यालय हेटौंडाको भौतिक संरचना निर्माणको काम अघि बढाउन लागिएको हो ।

कार्यालयको भौतिक संरचना बनाउन संघीय सरकार अन्तर्गतको सवारी परीक्षण कार्यालय हेटौंडाले डीपीआर बनाइरहेको जनाइएको छ ।

सवारी परिक्षण कार्यालय हेटौंडाका प्रमुख श्रीकान्त चौधरीका अनुसार हाल हेटौंडा–११ थानाभर्‍याङमा भाडाको घरबाट दैनिक कार्यसम्पादन गर्दै आएको छ ।

कार्यालयले रोपवे बन्द भएर थन्किएका डिब्बा, तार, नटबोल्ट, सवारी साधनलगायत कवाडी सामानहरुको लिलामी गर्न लगत तयार गर्न थालेको जनाइएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपाने, भवन कार्यालयका इन्जिनियर लगायतले सो स्थानको स्थलगत अवलोकन गरेका छन् ।

यस अघि सो क्षेत्रको रोप–वेको लोडिङ स्टेशनमा संयुक्त सुमोे काउन्टर राखिएको थियो । लामो समयदेखिको बेवास्ताको शिकार बनेको रोपवे क्षेत्र लागूऔषधको प्रयोगकर्ताहरुको अखडा बन्दै आएको छ ।

वि.संं २०१४ सालदेखि सो रोपवे मार्फत हेटौंडाबाट काठमाडौंसम्म विभिन्न प्रकारका सामानहरु ढुवानी गरिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट काठमाडौंको मातातीर्थसम्म २२ किलोमिटररोपवे लाइन बनाएका थिए।

पछि सो रोपवे धोर्सिङबाट हेटौंडा र मातातीर्थबाट टेकुसम्म लम्ब्याएर ४२ किलोमिटर बनाइयो । ततकालिन समयमा काठमाडौंसँग सडक यातायातको पहुँच नहुँदा बीरगञ्जबाट हेटौंडा हुँदै भीमफेदीसम्म मोटरबाट पुर्‍याइएका मेशिनरी तथा अन्य सामानहरु सो रोपवेबाट काठमाडौंसम्म पुर्याउने गरिन्थो ।

सो रोपवे बन्द हुनुअघि हेटौंडाबाट सिमेन्ट, रंग, खाद्यान्नलगायत सामग्री काठमाडौंसम्म ढुवानी गरिन्थ्यो ।

वि.सं. २०५४ सालसम्म सञ्चालनमा रहेको रोपवेबाट सस्तो भाडा दरमा सामान ढुवानी गरिन्थ्यो । धोर्सिङदेखि सञ्चालनमा आउने समयमा ८ टन सामान ढुवानी क्षमता रहेको रोपवे हेटौंडासम्म विस्तार भएपछि रोपवेको क्षमता वृद्धि गरी प्रतिघण्टा २५ टन पुगेको थियो ।

८ वटा टर्मिनल, ७ वटा स्टेशन र ३ सय ६० वटा डिब्बा रहेको रोपवेका अधिकांश तार तथा डिब्बाहरु हराइसकेका छन् ।

२३ वर्ष अघिसम्म ५२ कठ्ठा जग्गा रहेको रोपवेको २० कठ्ठा जग्गामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालय र श्रम कार्यालयले भवन निर्माण गरेका छन् । श्रम कार्यालयको भवनबाट बागमती प्रदेशको दुईवटा मन्त्रालय संचालनमा रहेका छन् ।

पछिल्लो समय बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं रोपवे सेवा पुनः सञ्चालन गर्ने चर्चा चलाएको भए पनि ठोस निर्णय हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*