क्रियाशील महिला पत्रकारको अन्तरक्रिया सम्पन्न
मकवानपुर । हेटौंडामा क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) मकवानपुरले आज अन्तक्रिया गरेको छ । १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मकवानपुरमा महिला पत्रकारको अबस्था विषयक अन्तरक्रिया गरेको हो । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा महिला पत्रकारहरुको समस्या, समाधान तथा आगामी रणनीतिका बारेमा चर्चा गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उपप्रमुख लामाले पत्रकारहरुको पक्षमा उपमहानगरले पत्रकार बिमा, उपचार कोषमा सहयोग, सञ्चार गृहको विकास लगायतमा विभिन्न कार्यहरु गरिरहेको धारणा व्यक्त गरेकी छिन् ।
कार्यक्रममा क्रियाशील महिला पत्रकारमा आवद्ध महिला पत्रकारहरुले बर्तमान अवस्थामा पत्रकार भएकै कारण भोगेका समस्या र सञ्चार गृहले क्षमता अनुरुपको पारिश्रमिक तथा कार्य सम्पादनमा समेत भेदभाव हुने गरेको गुनासो गरेका थिए । अन्तरक्रिया कार्यक्रममा महिला पत्रकारको विषयमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, मकवानपुर जिल्ला अध्यक्ष हरि हुमागाई, महासंघका पूर्व अध्यक्ष राममणि दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज), प्रेस संगठन नेपाल, मकवानपुरका संयोजक धर्मेन्द्र दाहाल, प्रेस संगठन नेपाल मकवानपुरका संयोजक अञ्जली थापा, सञ्चारिका समूहकी प्रदेश संयोजक सरिता दाहाल लगायत विभिन्न सञ्चार गृहसँग आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
हाल मकवानपुरमा पत्रकार महासंघमा १ सय ६३ सदस्यहरु रहेका छन् भने, ती मध्ये ४० जना महिला पत्रकारहरु रहेका छन् । अन्तक्र्रिया कार्यक्रम डब्लुडब्लुजेकी जिल्ला उपाध्यक्ष शुभलक्ष्मी विक ‘प्रभा’ को अध्यक्षतामा भएको थियो ।










