दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन संघीय सरकारलाई अनुरोध

हेटौडा न्युज
२२ पुष २०७८, बिहीबार ०९:१४
;

मकवानपुुर । बागमती प्रदेशको दुग्ध विकास बोर्डले किसानले पाउने गरी दूधको मूल्य बढाउने तयारी गरेको छ ।

विगत तीन वर्षदेखि दूधको मूल्य समायोजन नभएको भन्दै बोर्डले बागमतीमा दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरेको हो । बुधबार हेटौँडामा सरोकारवालासहित बसेको बोर्ड बैठकले १५ दिनभित्र किसानलाई राहत पुग्ने गरी दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गर्द संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्णय सिफारिस गरेको छ ।

संघीय सरकारले दूधको मुल्य नबढाए १५ दिनपछि बागमतीका किसानका लागि दूधको मूल्य बढाउने तयारी गरेको छ । दुग्द्य उत्पादक किसानहरू पलायन हुने अवस्था आएको भन्दै दूधको मूल्य बढाउन अत्यावश्यक रहेको बोर्डको ठहर छ । हाल बागमतीका दुग्द्य उत्पादक किसानहरूले गाईको दूधमा ४० देखि ४५ र भैँसीको दूधमा ५५ देखि ६० रुपैयाँ पाउँदै आएकोमा अब प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरिएको बोर्डका उपाध्यक्ष टीकाबल्लव सापकोटाले जानकारी दिए ।संघीय सरकारले दूधको मूल्य बढाउँदा बागमतीमा मात्र नभइ अन्य ६ वटै प्रदेशका किसानलाई राहत पुग्ने भएकाले बोर्डले मूल्य वृद्धि गर्न अनुरोध गरेको सापकोटाले जानकारी दिए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान पनि वितरण गर्दै आइरहेको छ ।

तर, अनुदान सबै किसानसम्म पुग्न नसकेको बोर्डका सदस्य सचिव समेत रहेका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानले बताए । अनुदान पनि पाउन नसकेका किसानका लागि राहत पुग्ने गरी दूधको मूल्य वृद्धि गर्नुपर्ने अवस्था आएको प्रधानको भनाइ छ ।उनले दूधको मूल्य बढ्दा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*