ऋषि धमलालाई बयान दिन बोलाईयो
मकवानपुर । पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र प्रत्यक्ष प्रशारण गरेको विषयमा प्रेस काउन्सिल नेपालले मौखिक बयान लिने भएको छ ।
धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नभएपछि मौखिक बयानका लागि बोलाएको हो । काउन्सिलको आज बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो । जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले बयानका लागि बोलाउने निर्णय भएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।
धमलाले छिटो समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हुने भन्दै आफ्नो गलत क्रियाकलापको बचाउ गर्न खोजेको काउन्सिलको निष्कर्ष छ । अब उनको मौखिक बयानपछि काउन्सीलले थप निर्णय लिने बस्नेतले बताएका छन् । धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ ।










