सौराहाका होटलहरु बन्द, निकुञ्ज क्षेत्र सुनसान

चितवनको सौराहाका होटलहरु बन्द भएका छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहाका होटलहरु बन्द भएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रूपमा रहेको सौराहा क्षेत्रमा साना तथा ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल संघ सौराहाको अनुसार, होटलले सूचना टाँसेर सेवा बन्द गरेका छन् । घरायसी रूपमा चलाएकाबाहेक अन्य होटलका कर्मचारीलाई बिदा दिएर कुरुवा मात्र राखिएको संघले जनाएको छ ।
पछिल्ला दिनमा पर्यटकको आवागमन घट्दै गएपछि सौराहा क्षेत्र सुनसान हुन थालेका थियो । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारलाई सहयोग गर्न भन्दै होटल बन्द गरिएका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने गतिविधिका लागि प्रवेश रोकिएको लगाईको छ । निकुञ्जको अनुसार निकुञ्ज प्रवेशको टिकट काउण्टर समेत बन्द गरिएको छ ।
निकुञ्ज क्षेत्र भित्र सफारी, हात्ती शयर, डुङ्गा सयरलगायतका गतिविधि गर्न प्रतिवन्ध लगाइएको छ । कोरोना भाइरसको जोखिम बढेपछि निकुञ्ज प्रवेशमा रोक लगाइएको निकुञ्जले जानाएको छ । सौराहाको थारु सांस्कृतिक सङ्ग्रहालय पनि बन्द भएको छ । पर्यटक आउने मुख्य मौसममा कोरोना प्रभावले गर्दा सौराहा क्षेत्रका गतिविधि ठप्प बनेको हो ।










