सङ्घसंस्थाको राहत अस्वीकार गर्न कैलाश गाउँपालिकाको आग्रह

मकवानपुरको कैलाश गाउँपालिकाले विभिन्न संघ संस्थाले बाडेको राहत नलिन स्थानियवासीलाई आग्रह गरेको छ । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले सङ्घसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयवासीलाई अनुरोध गरेको हो ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले स्थानिय जनतालाई ढुक्क रहन आग्रह गरेका छन्। उनले भने “कसको घरमा चुलो बल्न बन्द हुन लाग्यो भने छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्ने छौ”, ।
अध्यक्ष मोक्तानले गाउँघरमा थुप्रै रैथाने चिजबिजहरु खाएर समेत बाँच्न सकिने भन्दै पोका बाँडेर आफूलाई भगवान् बनाउन खोज्नेको राहत अस्वीकार गर्न अनुरोध गरेका हुन् ।
“गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको फूल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वन मान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान् देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरु माथि नै मनोदशारुपी कोरोना भाइरसको भयानाक आक्रमण देखियो । मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामी बीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खाना सकिन्छ । यो सङ्कटको बेलामा वल्लो पल्लो घरबाट एैचोपैचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाईं हामी नै हौँ । मोक्तानले भने ।”










