स्थानियद्वारा थानकोट–चित्लाङ सडकखण्ड अवरुद्ध
लकडाउनको अवधिमा पनि मानिसहरुको आवतजावत नरोकिए पछि थानकोट–चित्लाङ सडकखण्ड स्थानियद्वारा बन्द गरेका छन् । सरकारले देशभर लकडाउन गरे पछि पनि मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा मानिसहरुको आवतजावत् नरोकिएको भन्दै स्थानीयहरुले थानकोट–चित्लाङ सडकखण्ड (गणेशमान सिंह मार्ग) सडक अवरुद्ध गरी सवारी साधन संचालनमा रोक लगाएका हुन् ।
कोरोनाको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको थियो । लकडाउन कार्यान्वयनका लागि स्थानिय सरकारले समेत विभिन्न कार्य गरिरहेको छ ।
मकवानपुरको पर्यटकीय क्षेत्रको रुपमा रहेको चित्लाङमा लकडाउन उल्लंघन गरि आवतजावत गर्ने क्रम बढेसंगै माथिल्लो पौवाको प्रहरी चौकीमा सरोकारवालाको बैठकसमेत बसेको जनाइएको छ ।
वडाअध्यक्ष परशुराम श्रेष्ठको उपस्थितिमा बसेको बैठकले गाउँमा बाहिरबाट कुनै पनि मानिसलाई आउन नदिने निर्णय गरेको स्थानीयले बताएका छन् ।
रातको समयमा गाउँमा धेरै मानिसहरु भित्रिन क्रम बढेपछि आवतजावत् पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको थियो । गए राति मात्रै करिव डेढ सय मानिसहरु गाउँ भित्रिएको बताइएको छ । नचिनेका मानिसहरु समेत आउने क्रम नरोकिएपछि बैठक बसेर आवतजावत् पुर्ण रुपमा बन्द गर्ने निर्णयमा पुगेका गरिएको बताइएको छ । आग्रह गर्दा पनि अटेरी गरेपछि बाटो अवरोध गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयहरुको भनाई छ ।
बिरामीको सट्टा अन्य मानिससमेत ओसार्न थालेको भन्दै स्थानीयले एम्बसुलेन्स समेत आवतजावत गर्न नमिल्ने गरी जेसीबीको प्रयोग गरि सडक खनेर अवरुद्ध पारिएको हो ।
लकडाउन अघि नै कोरोना भाइरस संक्रमणको जोखमलाई ध्यानमा राख्दै होम स्टे र रिसोर्ट सञ्चालकहरुले पाहुनालाई नआउन आग्रह गरेका थिए । चित्लाङमा ११ वटा होम स्टे र ५ रिसोर्ट सञ्चालनमा रहेका छन् ।










