घर भत्कदा चार सशस्त्र प्रहरी घाइते
भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एक हवल्दारसहित ४ जना प्रहरी घाइते भएका छन् । एक्कासि आएको हुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठ घाइते भएका हुन् ।
भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्कीएको सशस्त्र प्रहरी वल ११ नम्बर हेडक्वाटर गौरका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविराज कर्णजीतले जानकारी दिएका छन् । सो पोष्टमा रहेको एउटा व्यारेक पूर्ण रूपमा ढल्दा घाइते भएका चार जनाको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए ।
बजेटको अभावमा लामो समयदेखि उक्त घरको मर्मत नहुँदा हावाहुरीले भत्किएको स्थानीय पत्रकार आदर्श उपाध्यायले बताए । .
लकडाउन अवधिमा बोर्डरको सुरक्षा चुनौतिपूर्ण रहेको भन्दै जिल्लामा सशस्त्र प्रहरीले अस्थायी पोष्ट र गस्तीहरू थप गरेको छ । जिल्लामा अहिले ४२ वटा सशस्त्रको गस्ती टोलीले बोर्डरमा २४ सै घण्टा नियमित गस्ती गर्ने गरेका छन् ।
जनताको सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीको पनि सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने स्थानीयको भनाइ रहेको छ ।
यो समाचार रौतहटका सञ्चारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।










