हेटौंडामा भेटिए अर्का बेसहारा, भोक मेट्न फोहोर खाना खादै

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार २२:१४
;

हेटौंडाको सडकमा पुनः एक बेसहारा व्यक्ति फेला परेका छन् । नाम र घर सम्म पनि बताउन नसक्ने ती व्यक्ति आज शनिबार दिउँसो करिव १ बजे हेटौंडाको बुद्ध चोकको सडक पेटिमा बसेर फोहोर खाना खादै गरेको अवस्थामा भेटिएका हुन् ।

""

मकवानपुर सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला हो । बागमती प्रदेश सरकारले मकवानपुर सहित प्रदेशका १३ जिल्लालाई सडक मानव मुक्त बनाउन करोडौं खर्च गरेर सहजकर्ता कर्मचारी सहितको अभियान नै चलाएको छ । 

सो चौक हुँदै प्रदेश सरकारका मन्त्रीहरु दैनिक आउजाउ गरिरहेका हुन्छन्, तर सडक पेटीमा रहेको बेसहारालाई कालो सिसाको झ्यालबाट देख्दैनन् । 

""

हेटौंडाको मुख्य चोकमा नै बेसहारा व्यक्तिले डेरा जमाउदा समेत स्थानीय प्रशासन र सरकार भने बेखबर छ । त्यतिमात्रै होईन, बुद्धचौकमा २४ सै घण्टा ड्युटीमा रहेको प्रहरीले समेत सम्बन्धित निकायलाई जानकारी समेत गराउँदैनन् । अभियानलाई सघाउन राखिएका कर्मचारी (सहजकर्ता) भने लकडाउन छ हामी निस्कन मिल्दैन भन्दै झारा टार्ने काम गरी रहेका छन् ।

केहीदिन अघि बेसहाराको उद्दारमा र संरक्षणमा लागिरहेको हेटौंडाको मानव सेवा आश्रमले भने कोरोना संक्रमणको कारण लकडाउन रहेको र आश्रममा क्वारेन्टाइन तथा आईसोलेसन नभएकोले उद्दार गर्न नसक्ने बताएको थियो ।

करीब ५ दिनअघि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा, मेनरोडको सडक पेटिमा बस्दै आएका एक बेसहारा व्यक्तिलाई मानव सेवा आश्रमले चौतर्फी दवाब पछि मात्रै उद्दार गरेको थियो ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*