थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय २० पुग्यो

नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।
स्वाूथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का रहेका छन् ।
संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ । यसैगरी बाँकेसमेत गरी प्रदेश नम्बर ५ मा ३९ जना फेला परेका छन् । बाँकेमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।










