हेटौंडा मेलाः अशोकसँगै झुम्यो हेटौंडा ।
हेटौँडा,२३ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज छैठौं दिनमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । दैनिक साँगितिक कार्यक्रमको साथमा सञ्चालन भईरहेको मेलामा आज बिहीबार गायक तथा संगीतकार टंक बुढाथोकी, बालगायक अशोक दर्जी, एआर बुढाथोकी लगायत स्थानीय कलाकारहरुले आफ्ना प्रस्तुति दिएका थिए । मकन बिनाको भन ठूलो कि बोलको गीतबाट चर्चा कमाएका अशोक दर्जीले मेलामा सहभागी दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
भोलि फागुन २४ गते शुक्रबार लोक दोहोरी गायक मिलन लामा, प्रिति आले, कृष्ण काफ्ले लगायतका कलाकारहरुको प्रस्तुति रहने छ भने पुरानो मेडिकल कलेज भरतपुरका स्त्रीरोग विशेषज्ञहरुबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने संघका प्रवक्ता काव्यमणी अधिकारीले जानकारी दिएका छन् । मेलामा बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ । मेला स्थलमा करीब ४ सय ५० स्टल रहेका छन् । मेला आगामी फागुन २८ गते सम्म सञ्चालन हुने छ ।