भारतीय आइपिएसद्वारा अभिनेता फरहान अख्तरलाई कारवाही गर्नुपर्ने माग
एक भारतीय सरकारी आइपिएस अधिकृतले बलिउड अभिनेता फरहान अख्तरलाई कारवाही गरिनुपर्ने बताएका छन्। दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडको विरोधमा बोलेका फरहानले कानुन उल्लंघन गरेको भन्दै आइपिएस अधिकृतले भारत प्रहरीलाई कारवाहीको माग गरेका हुन्।
नागरिकता कानुनका विरोध गरेका जामिया विश्वविद्यालयका विद्यार्थीहरूमाथि प्रहरीले ज्यादती गरेको भन्दै भारत सरकारको विरोध भइरहेको छ।
प्रहरीले पुस्तकालयभित्रै अश्रुग्यास प्रहार गरिएका भिडिओ फुटेज सार्वजनिक भएका छन्। यसपछि बलिउड कलाकारहरूले यी घटनाको चर्को विरोध गरिरहेका थिए। कंगना रनावत, तपसी पन्नु, राजकुमार राव, आलिया भट्ट, अनुराग कश्यप, मनोज बाजपेयी, दिया मिर्जा, परिणिती चोपडा, प्रियंका चोपडा लगायतले आफ्ना धारणा राखेका थिए।
यसै क्रममा फरहान अख्तरले पनि ट्विटमार्फत् विरोध जनाएका थिए। उनले भनेका छन्( अब सामाजिक सञ्जालमा मात्र बोल्ने बेला सकियो। हामी सडकमै आउनुपर्छ। भोलि मुम्बईको क्रान्ति मैदानमा भेला होऔं। फरहानले बिहीबार मुम्बईमा हुने भेलाका लागि आह्वान गरेका थिए।
लगत्तै उनको आह्वानमा सरकारका वरिष्ठ आइपिएस अधिकृत सन्दीप मित्तलले चेतावनीपूर्ण कमेन्ट गरेका छन्। मित्तलले फरहानले कानुन तोडेको भन्दै उनलाई कारवाही हुनसक्ने चेतावनी दिएका हुन्। मित्तलले भारतीय प्रहरी र राष्ट्रिय अनुसन्धान एजेन्सीलाई ट्याग गर्दै फरहानलाई कारवाही हुनुपर्ने बताएका छन्।
आइपिएस अधिकृत मित्तलले केही दिनअघि जावेद अख्तरको ट्विटमा पनि कमेन्ट गरेका थिए। फरहानका बाबु जावेदले पनि जामिया घटनामा प्रहरीको व्यवहारको विरोध गरेका थिए। मित्तलले जावेदलाई पनि ुप्रहरीको व्यवहार गैरकानुनी कसरी भयो उल्लेख गरु भन्नेखालको टिप्पणी गरेका थिए।स्रोत : एजेन्सी