ईश्वरको निन्दा गरेको भन्दै शिक्षकलाई मृत्युदण्ड

पाकिस्तानमा एक विश्वविद्यालयका एक शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ। पाकिस्तानमा धर्म निन्दालाई गम्भीर अपराधका रुपमा हेर्ने गरिन्छ । यसरी आरोप मात्रै लागेका व्यक्ति पनि अतिवादी समूहको निशानामा पर्ने गरेका छन् ।
सन् २०१३, मार्च मा जुनैद हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरु लेखेको आरोपमा पक्राउ गरेको थियो । अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हाँसिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्तिअन्तर्गत अमेरिकामा स्नातकोत्तर गरेका थिए।
अध्ययनपछि पाकिस्तान फर्किएका हफिज बहायद्यिन जकारिया युनिभर्सिटीका शिक्षक थिए। उनी विश्व विद्ययालयबाट पक्राउ परेका थिए । उनलाई मुल्तान सहरस्थित केन्द्रीय कारागारमा हुँदा सजाय सुनाइएको हो । उनका वकिलले फैसलालाई दुर्भाग्यपूर्ण भन्दै त्यस विरुद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन् ।
सन् २०१४ मा हफिजको मुद्धा लड्न सहमत भएका वकिल रसिद रेहानलाई एक बन्धुकधारीले मारेको थियो । जेलभित्र अन्य बन्दीबाट आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठामा कैद गरिएको थियो ।
धर्म निन्दा गरेको भन्दै अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाइएको छ । तर सजाय भने कार्यन्वयन गरिएको छैन् । पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ ।
इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो । धर्म निन्दासम्बन्धी कडा कानुनको पक्षमा जनसमर्थन रहिआएको छ । सन् १९९० को दशक यता कैयौं इसाइ पनि धर्म निन्दाको आरोपमा दोषी ठहर भएका छन् । सन् १९९० यता इसा निन्दाको आरोपमा कम्तीमा ६५ जनाको हत्या भएको छ।
अभियोजनकर्ता वकिलले भने फैसलापछि ईश्वरको निन्दा गर्नेलाई मृत्युु भन्दै नाराबाजी गरे र आपसमा मिठाई बाँडेर खुशीयाली मनाएका थिए । एमनेस्टी इन्टर नेसनलले फैसलाबाट निकै दुःख र आश्चर्य चकित भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ । स्रोत ः एजेन्सी