सोनिया गान्धीले भनिन् : मोदीले गुण्डा लगाएर विद्यार्थीको आवाज दबाउन खोजे
कांग्रेस अध्यक्ष सोनिया गान्धीले भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा आइतबार साँझ भएको सांघातिक हमलाको विरोध गरेकी छन् ।
भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष गान्धीले जेएनयुमा भएको हमलाको विरोध गर्दै मोदीले हिंसामार्फत् विद्यार्थीको आवाज दबाउन खोजेको बताएकी हुन् ।
मोदीले युवा र विद्यार्थीको आवाज दबाएको र उनीहरूको आवाजलाई मजाक उडाएको सोनियाको भनाइ छ । त्यस्तै जेएनयुका विद्यार्थीमाथि भएको हमलालाई सरकारले असहमतिको आवाजलाई दबाउन गरेको कदमका रूपमा लिनुपर्ने उनको भनाइ छ ।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा आइतबार साँझ हिंसात्मक हमला भएको थियो । हमलामा जेएनयू छात्र संघको अध्यक्ष लगायत विद्यार्थीहरुलाई गम्भीर घाइते भएका थिए भने छात्राबास तोडफोड गरिएको छ ।
घटना जेएनयू क्याम्पसभित्र भएको हो । नकाबधारी हमलाकारीले कयौं होस्टेलमा गएर हमला गरेका हुन् । हमलाकारीले लाठीसहित हतियार बोकेका देखिन्थे । अधिकांशले आफ्नो अनुहारमा नकाब बाधेका थिए । क्याम्पस पुग्नासाथ उनीहरुले विद्यार्थीमाथि हमला गरेका थिए ।
दिल्ली प्रहरीले उक्त घटनाबारे छानबिन सुरु गरेको छ भने एफआईआर समेत दर्ता भएको छ ।एजेन्सी