अस्ट्रेलियाको डढेलोपछि झुटको अनेकौं खेती
स्ट्रेलियामा अभूतपूर्व राष्ट्रिय संकट बनेर लागेको डढेलोपछि झूटका अनेकौं खेती हुन थालेका छन् ।
एउटा षड्यन्त्र सिद्धान्त अनुसार, यो डढेलो अस्ट्रेलियाको ईस्ट कोस्टमा तीव्र गतिको रेलका लागि बाटो खुलाउन लगाइएको हो । अन्यले चाहिँ कुनै प्रमाण नदिइकनै इस्लामिक स्टेट आतंकवादी समूहले अस्ट्रेलियाविरुद्ध आगोमार्फत युद्ध गर्न आफ्ना लडाकूलाई निर्देशन दिएको बताइरहेका छन् ।
अनि चिनियाँ अर्बपतिहरूले नयाँ शहर बनाउनका लागि लेजरमार्फत डढेलो लगाएको भन्नेहरू पनि छन् । अनि वातावरणीय आतंकवादीहरू (इको टेररिस्ट)ले विपत निम्त्याएर जलवायु परिवर्तनका विषयमा कारवाही चलाउन सरकारलाई प्रेरित गरेको समेत बताए ।
त्यसो त अस्ट्रेलियामा आगजनी ९आर्सन० पहिलेदेखिकै गम्भीर समस्या हो । विशेषगरी आगलागीको खतरा रहेको सुक्खाको समयमा यो खतरा झन् बढ्छ । आगजनी गर्नेहरूले अहिलेसम्मका खतरनाक डढेलो लगाउन योगदान गरेका छन् । सन् २००९ मा भएको ब्ल्याक स्याटरडे डढेलोमा १० जनाको मृत्यु भएको थियो ।
न्यु साउथ वेल्स प्रहरीले नोभेम्बर महिनायता डढेलो लगाएको आरोपमा २४ मानिसविरुद्ध आरोप लगाएको जनाएको छ ।
तर अहिलेको डढेलोमा आगजनीलाई अलि बढाइचढाइ नै प्रस्तुत गरिएको देखिन्छ । ट्विटरमा ह्याशट्याट आर्सनइमर्जेन्सी अन्तर्गत आगजनीसम्बन्धी अनेकौं गलत सूचनाहरू प्रवाहित भइरहेका छन् । यी डढेलोका लागि जलवायु परिवर्तन पनि दोषी रहेको तथ्यलाई लुकाउन खोजिएको छ । स्रोत : द गार्डियन











