८६ वर्षमा विश्वकप क्रिकेट हेर्न जाने चारुलताको निधन
क्रिकेट विश्वकप २०१९ मा भारतीय क्रिकेट टिमलाई समर्थन गरेर चर्चा पाएकी ८७ वर्षीय चारुलता पटेलको निधन भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले चारुलतालाई भारतीय क्रिकेट टिमको सुपरफ्यानको संज्ञा दिँदै श्रद्धान्जली दिएको छ।
क्रिकेट बोर्डले उनको खेलप्रतिको भावनाले सधैं उत्प्रेरणा दिइरहने भएकाले उनलाई सधैं सम्झिरहने भन्दै ट्विट गरेको छ।
उनले इंग्ल्यान्डमा भएको विश्वकपको लिग खेलको दौरान भारतीय कप्तान विराट कोहलीलाई भेटेकी थिइन्।
अनुहारमा चाउरी परे पनि, कपाल सेताम्ये भए पनि, खुट्टाले शरिरको भार थाम्न नसके पनि उनले १७ वर्षीय किशोरीजस्तै रंगशालामा गएर विश्वकपका खेल हेरेकी थिइन्।
बर्मिङघमको एजबेस्टनमका भारत र बंगलादेशबीच खेलका दौरान चारूलताले सबैको ध्यान खिचेकी थिइन्।
उनलाई क्यामेरले बेलाबेला कैद गरेको थियो भने आइसिसी उनको भिडिओ अन्तर्वार्ता लिएको थियो।
त्यसक्रममा भारतीयका पूर्वकप्तान तथा क्रिकेट कमेन्टेटर सौरभ गांगुली र हर्ष भोग्लेले उनको चर्चा गरेका थिए।
भारतले खेले जितेपछि कप्तान विराट कोहली तथा ओपनिङ ब्याट्सम्यान रोहित शर्माले उनलाई भेट्न पुगेका थिए। त्यसक्रममा उनले दुवै खेलाडीलाई आशिर्वाद दिइरहेको भिडियो पनि आइसिसीले सोसल मिडियामा पोस्ट गरेको थियो।
चारुलताले ह्विलचियरमा आएर दुवै खेलाडीलाई बधाई र आशिर्वाद दिएकी थिइन्। केहीपछि कप्तान कोहलीले ट्विटरमा उनीसँगको फोटो पोस्ट गरेर उनको खेल भावनाको प्रशंसा गरेका थिए।
विराटले लेखेका थिए,‘हाम्रा सबै समर्थकको माया र समर्थनका लागि तथा विशेषगरी चारूलतापटेल जीको धन्यवाद दिन चाहन्छु। उहाँ ८७ वर्षको हुनुहुन्छ। सायद उहाँ सबैभन्दा भावुक र समर्पित समर्थक मध्येको एक हुनुहुन्छ।’
चारुलताको जन्म भारत नभई तान्जानियामा भएको हो। तान्जानियामा जन्मिए पनि उनका मातापिता भने भारतका हुन्।
उनले इंग्ल्यान्डको काउन्ट्री क्रिकेटमा आफ्ना सन्तानले खेलेको देखेर क्रिकेट मन पराउन थालेकी थिइन्।
सन् १९८३ मा भारतले पहिलो पटक विश्वकप जित्दा उनी इंग्ल्यान्डमै थिइन्। तर त्यतिबेला भने उनले मैदानमा गएर खेल हेर्न पाइनन्। जागिरका कारणले विश्वकप मैदानमै गएर हेर्न नपाए पनि उनले टेलिभिजनमा भने हेरेकी थिइन्।
दुई दशकअघि जागिरबाट अवकाश पाएपछि भने चारूलता क्रिकेट हेर्न रंगशालामै पुग्ने गरेकी थिइन्।एजेन्सी