सच्चिएन नामः राजपत्रमा बागमती, साइनबोर्डमा प्रदेश ३
गत पौष २७ गतेको प्रदेश सभाले प्रदेश ३ को राजधानी र नामाकरणको विषयलाई औपचारीकता दिदै प्रदेशको राजधानी हेटौंडा र नाम बागमती हुने गरी टुङेग्याएको थियो । राजधानी र नामाकरण टुङ्गीएको आज आईतबार सम्म ८ औं दिन बितिसकेको छ ।
बागमती प्रदेशको नामाकरण भएको एक हप्ता विती सक्दा पनि साईनवोर्डमा भने नाम जस्ताको तस्तै (प्रदेश ३) नै छ । प्रदेशका मन्त्रालयको साइनवोर्डमा अझै पनि बागमती प्रदेशको नाम प्रदेश–३ नै रहेको छ ।
प्रदेशका पाँच ओटा मन्त्रालयका साइनवोर्डमा नाम नै छैन । प्रदेशका मन्त्रालय, निर्देशनालय र जिल्ला स्थित कार्यालयका साइनवोर्डमा बागमती प्रदेश हुनु पर्नेमा प्रदेश–३ नै राखिएको छ ।
यता प्रदेशको मुख्य न्यायधिवक्ताको कार्यालय, लेखा नियन्त्रकको कार्यालय, प्रदेश नीति तथा योजना आयोगको कार्यालय, प्रदेश लोकसेवा आयोगको कार्यालय, प्रदेशको स्वास्थ्य, शिक्षा निर्देशनालय हेटौंडाका कार्यालयमा अझै पनि प्रदेश ३ लेखीएको वोर्ड छ ।
मन्त्रालयका कर्मचारीले एक हप्ता वितीसक्दा समेत बागमती प्रदेशको नाम किन नलेखेको भन्ने प्रश्न प्रदेश सरकार समक्ष खडा भएको छ ।
एक हप्ता विती सक्दा पनि आफ्ना मन्त्रालयको साइनबोर्ड समेत परिवर्तन नगरेकोमा कर्मचारीले ढिला सुस्ती गरेको स्थानीय वासिन्दा र सेवाग्राहीले आरोप लगाएका छन् ।
प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संसद सचिवालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मात्र वागमती प्रदेशको नाममा साइनबोर्ड झुण्डाइएको छ भने प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयका बोर्डमा प्रदेश–३ नै लेखिएको बोर्ड झुण्डाइएको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल का अनुसार मन्त्रालय र मातहतका कार्यालयमा प्रदेश ३ लाई मेटेर बागमती प्रदेशको नाम लेखिनु पर्ने बताएका छन् ।
प्रदेश सभाले नामाकरण टुङ्ग्याएको एक हप्ता विती सक्दा पनि आफ्ना मन्त्रालयको बोर्डमा प्रदेशको नाम लेख्न नसक्ने सरकारले जनताको अनुभुती गर्नेगरी कसरी काम गर्छन भन्नेमा आसंका पैदा भएको छ ।