आफ्नै देशलाई लुटेर र भ्रष्टाचारको माध्यमबाट अफ्रिकाकै धनी महिला बनेकी इसाबेल
अफ्रिका महादेशकै सबैभन्दा धनी महिलाले आफ्नै देशलाई लुटेर र भ्रष्टाचारको माध्यमबाट सम्पत्ति आर्जन गरेको गोप्य दस्तावेजहरुबाट खुल्न आएको छ ।
आफ्ना पिता प्राकृतिक स्रोतहरुले धनी राष्ट्र एङ्गोलाको राष्ट्रपति हुँदा इसाबेल डस सान्तोषले जमिन, तेल, हीरा र टेलिकमसम्बन्धी आकर्षक ‘डिल’हरु हासिल गर्न सफल भएकी थिइन् ।
सार्वजनिक भएका दस्तावेजहरुमा उनी र उनको पतिले राज्यको बहुमूल्य स्रोतलाई शङ्कास्पद ढङ्गले आफ्नो बनाउन सफल भएको देखिएको छ ।
इसाबेलले भने आफूहरुमाथि लगाइएको आरोपहरु सबै झुटा भएको र एङ्गोलाको सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाएकी छिन् ।
हाल इसाबेल बेलायतमा बस्दै आएकी छिन् । सेन्ट्रल लन्डनमा उनको प्रशस्त सम्पत्ति छ ।
उता एङ्गोलमा भने उनीमाथि भ्रष्टाचारको मामिलामा अनुसन्धान सुरु भइसकेको छ । देशमा रहेका उनका सबै सम्पत्ति रोक्का गरिएको छ ।
इसाबेलसम्बन्धी अधिकांश दस्तावेज प्लेटफर्म टु प्रोटेक्ट विसल ब्लोअरर्स इन् अफ्रिकाले फेला पारेको थियो, जसलाई इन्टरनेसनल कसोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) सँग साझा गरिएको थियो । यसलाई द गार्जियन र पोर्चुगलको एक्सप्रेसो पत्रिकासहित ३७ अन्य मिडिया संस्थानहरुले अध्ययन गरेका थिए ।
करप्सन वाचका प्रमुख एन्ड्रयु फेइन्सिटिनले प्राप्त दस्तावेजहरुले इसाबेलले आफ्नै देशका कसरी दोहन गरिन् भन्ने देखाएको छ ।
आईसीआईजेले यसलाई ‘द लुआन्डा लिक्स’को नाम दिएको छ ।
तेलको कनेक्सन सबैभन्दा शङ्कास्पद कारोबार एङ्गोलाको राज्यद्वारा सञ्चालित तेल कम्पनी सोनान्गोलको लन्डनमा रहेको बेलायती सहायक कम्पनीबाट भएको देखिन्छ ।
इसाबेलका पिता होजे एड्वार्डो डस सान्तोस ३८ वर्षसम्म एङ्गोलमा शक्तिमा थिए । एड्वार्डो राष्ट्रपति भएकै बेला इसाबेललाई सन् २०१६ मा सङ्कटग्रस्त सोनान्गोलको नेतृत्व गर्ने अवसर दिइएको थियो ।
सन् २०१७ को सेप्टेम्बरमा एड्वार्डोले राष्ट्रपति पदबाट अवकास लिएपछि पार्टीबाट उनले आफ्नो उत्तराधिकारी छनौट गरेका थिए । नयाँ राष्ट्रपतिको आगमनसँगै इसाबेलको पद धरापमा परेको थियो । नभन्दै दुई महिनापछि उनी बर्खास्तीमा परिन् ।
नयाँ राष्ट्रपति जोआओ लौरेन्कोले पूर्व राष्ट्रपतिको सम्पत्ति यति धेरै चासो दिँदै छानबिन सुरु गरेपछि धेरै अङ्गोलावासीहरु नै छक्क परेका थिए ।
अहिले सार्वजनिक भएका दस्तावेजहरुमा सोनान्गोल छाड्दाछाड्दै इसाबेलले दुबईमा रहेको म्याटर बिजनेस सलुसन्स नामक कन्सल्टेन्सी कम्पनीलाई शङ्कास्पद रूपमा ५.८ करोड डलर (करिब ६.५ अर्ब नेपाली रुपैयाँ) तिरेको देखिएको छ ।
उनले म्याटरसँग आफ्नो केही आर्थिक चासो नभएको बताए पनि उक्त कम्पनी इसाबेलकै बिजनेस म्यानेजरले सञ्चालन गर्ने गरेको र उनका साथीको स्वामित्व रहेको देखाउँछ ।
उनी बर्खास्तीमा परेको दिन मात्र सोनान्गोलको लन्डनस्थित कार्यालयमा ५० भन्दा बढी बिलहरु पठाइएको थियो । इसाबेलले आफ्नो साथीको कम्पनीलाई बर्खास्तीमा परेपछि रकम प्रदान गरेकी थिइन् ।
म्याटरले सानान्गोलका लागि कन्सल्टेन्सीको काम गरेको भए पनि त्यत्रो ठूलो रकमको कन्सल्टेन्सीले के काम गर्यो भन्ने खुल्न सकेको छैन ।
एउटा बिलमा केमा खर्च भयो भनेर स्पष्टसँग नखुलाई ४ लाख ७२ हजार १९६ युरो माग गरिएको छ भने कानुनी सेवाका लागि भन्दै ९ लाख २८ हजार ५१७ डलर माग गरिएको छ ।
सोही दिन सोही कामका लागि भन्दै ६ लाख ७६ हजार ३३९.९७ युरोको दुई बिल पठाइएको छ । त्यसलाई पनि इसाबेलले भुक्तानी दिएकी छिन् ।
म्याटर बिजनेस सलुसन्सका वकिलले एङ्गोलमा सानान्गोल कम्पनीलाई पुनर्संरचना गर्नका लागि आफ्नो कम्पनीलाई लिइएको जिकिर गरेको छ । वकिलहरुले कम्पनीले पहिल्यै गरेका कामका लागि सोही बिल भुक्तानी भएको दाबी गरेका छन् ।
यता इसाबेलका वकिलहरुले पनि म्याटरको मामिलामा उनले गरेको भुक्तानी कानुनसम्मत रहेको र सोनान्गोलबाट बर्खास्त भएपछि कुनै पनि भुक्तानी नगरेको दाबी गरेका छन् ।
ईसीआई र पानारोमाले इसाबेललाई धनी बनाउने बिजनेस डिलहरुको बारेमा पनि नयाँ तथ्य फेला पारेको छ ।
उनले आफ्नो सम्पत्तिको अधिकांश हिस्सा पोर्चुगलको ऊर्जा कम्पनी गाल्पको सेयरबाट हासिल गरेकी छिन् । उनको एउटा कम्पनीले सो सेयर सोनान्गोलबाट सन् २००६ मा खरिद गरेकी थिइन् ।
दस्तावेजमा उनले सो हिस्सेदारी खरिद गर्नका लागि कूल मूल्यको १५ प्रतिशत मात्र तिर्नुपरेको देखिएको छ । बाँकी ७ करोड डलर पनि सोनान्गोलबाट निकै कम ब्याजमा ऋणका रूपमा उपलब्ध गराइएको थियो । ऋण सम्झौतामा उनले सो रकम ११ वर्षसम्म तिर्नुनपर्ने थियो ।
गाल्पमा उनको सेयरको मूल्य ७.५ अर्ब डलर युरो रहेको छ ।
सन् २०१७ मा इसाबेलको कम्पनीले सोनान्गोलको ऋण तिर्ने प्रस्ताव गरेको थियो । त्यसमा ९० लाख युरो ब्याज उल्लेख नभएको हुँदा त्यसलाई अस्वीकार गरिनुपर्ने थियो । तर सो समय इसाबेल नै सोनान्गोलको प्रमुख रहेको कारण उनले त्यो प्रस्ताव स्वीकार गरिन् ।
त्यसको ६ दिनपछि उनी बर्खास्त भएकी थिइन् । पछि सोनान्गोलको व्यवस्थापनले उक्त रकम फिर्ता गरेको थियो । इसाबेलले गाल्पमा रहेको सेयर आफ्नो कम्पनीले किन्दा सोनान्गोलले पनि फाइदा हासिल गरेको दाबी गर्छिन् ।
हीराको कनेक्सन
हिराको उद्योगमा पनि यस्तै छ । इसाबेलका पति सिन्डिका डोकोलोले सन् २०१२ मा एङ्गोलको राज्यद्वारा सञ्चालित हीरा कम्पनी सोडियामसँग एकपक्षीय सम्झौता गरे । जसमा दुवै कम्पनी स्विस लक्सजरी ज्वेलर डे ग्रिसोगोनोको हिस्सेदारी किन्दा ५०–५० को पार्टनर हुने बताइएको थियो । तर यसका लागि लगानी भने राज्यद्वारा सञ्चालित कम्पनीले गर्नुपर्ने थियो । दस्तावेजमा १८ महिनाको अन्तरालमा सोडियामले ७.९ करोड डलर लगानी गर्दा डोकोलेले मात्र ४० लाख डलर लगानी गरेको देखिन्छ । सोडियामले करार सम्झौता गरेबापत डोकोलोलाई ५० लाख युरो प्रदान गरेको थियो, जसले गर्दा उनले यसमा आफ्नो कुनै रकम नै खर्च गर्नुपरेन ।
अझ सोडियामले आफूलाई आवश्यक सबै रकम एउटा निजी बैङ्कबाट लिएको देखिन्छ, जसमा इसाबेलको ठूलो हिस्सेदारी रहेको छ । उक्त रकमका लागि ९ प्रतिशतसम्म ब्याज तिर्नुपरेको थियो । ऋणलाई उनका राष्ट्रपतिका पिताले ग्यारेन्टी गरेका थिए ।
सोडियामका नयाँ कार्यकारी प्रमुख ब्राभो डा रोसाले यस सम्झौताबाट सोडियामले कुनै फाइदा प्राप्त नगरेको र ऋण तिर्दासम्म २० करोड डलर गुमाएको बताए ।
पूर्व राष्ट्रपतिले इसाबेलका पतिलाई एङ्गोलाको काँचो हीरा किन्ने अधिकार पनि दिएका थिए । एङ्गोलाको सरकारका अनुसार निकै कम मूल्यमा बिक्री गरिएको थियो । यसमा सरकारलाई १ अर्ब डलरभन्दा बढी घटा पुगेको उनीहरुको दाबी छ ।
जग्गा कनेक्सन
सार्वजनिक भएको दस्तावेजमा इसाबेलले सन् २०१७ सेप्टेम्बरमा राज्यबाट जग्गा किनेको देखिन्छ । यसका लागि उनले सुरुमा निकै कम रकम मात्र तिर्नुपरेको थियो । उनका राष्ट्रपति पिताले हस्ताक्षर गरेको राष्ट्रपतीय आदेशअनुसार उनले राजधानी लुआन्डामा १ वर्ग किलोमिटर जमिन खरिद गरेकी थिइन् ।
करारमा जग्गाको मूल्य ९.६ करोड डलर रहेको देखिन्छ । तर इसाबेलको कम्पनीले त्यसको पाँच प्रतिशत रकम मात्र तिरेको देखिन्छ । बाँकी रकम त्यहाँ विकास निर्माणका लागि खर्च भएको देखिन्छ । त्यस क्षेत्रको विकासका लागि त्यहाँ बसोबास गर्दै आएका सामान्य नागरिकहरुलाई समेत अन्यत्र टाढा सारिएको थियो ।
टेलिकम कनेक्सन
अर्बपति इसाबेलले एङ्गोलको टेलिकम क्षेत्रबाट पनि ठूलो नाफा हासिल गरेको देखिन्छ । इसाबेलले देशको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी युनिटेलको २५ प्रतिशत सेयर खरिद गरेकी थिइन् । उक्त कम्पनीलाई उनकै पिताले सन् १९९९ मा लाइसेन्स दिएका थिए । इसाबेलले अर्को वर्ष नै एक शीर्ष सरकारी अधिकारीबाट कम्पनीको सेयर हासिल गरेकी थिइन् । कम्पनीले उनलाई १ अर्ब डलर लाभांश वितरण गरिसकेको छ भने उनको कम्पनीमा हिस्सेदारी थप १ अर्ब डलरको छ । तर, उनले निजी कम्पनीबाट रकम यसरी मात्र प्राप्त गरिनन् ।
उनले नयाँ युनिटेल इन्टरनेसनल होल्डिङ स्थापना गर्न युनिटेललाई ३५ करोड युरो सापटी लिएकी थिइन् । यसको नाम नै झुक्याउने खालको थियो किनभने यो युनिटेलसँग सम्बन्धित थिएन । र, यसको मालिक इसाबेल थिइन् । इसाबेलले ऋणी र ऋण प्रदायक दुवैको भूमिकामा रहेर हस्ताक्षर गरेकी थिइन् ।
स्रोत : https://www.bbc.com/news/world-africa-51128950
एजेन्सी