भ्रुण हत्याको आरोप लागेका गाउँपालिकाका अध्यक्षसहित चार जना फरार
भ्रुण हत्याको आरोप लागेका कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना फरार रहेको प्रहरीले जनाएको छ ।
२१ हप्ताको गर्भपतन गराउन दबाब दिएको भन्दै सोही गाउँपालिकाकी १९ वर्षीया एक युवतीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू फरार भएका हुन्।
फरार भएका अध्यक्षसहित सोही गाउँपालिकाको वडा नम्बर–५, स्याबरुम्बाका रमेश खड्काको परिवारका सदस्यलाई खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जनाएको छ ।
पीडित युवतीले गत बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर अध्यक्षसहित सात जनाविरुद्ध भ्रुण हत्यासम्बन्धि कसूरमा किटानी जाहेरी दिएकी थिइन्।
जाहेरीका आधार प्रहरीले तीन जना स्वास्थ्यकर्मीलाई भने बिहीबार नै नियन्त्रणमा लिएको छ। उनीहरूलाई गर्भपतन गराउन संलग्न भएको अभियोग लागेको छ।