गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि हात छः सिपी गजुरेल
देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि हात रहेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने बताउँदै यस्तो आरोप लगाएका हुन् । उनले जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गरेका छन् ।
उनले भने,‘प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव छैन् ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको कुरा आएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै कडा प्रश्न गरेका छन् ।
उहाँले यत्रो दिन किन गुपचुप राख्नुभयो ? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ, अहिले उहाँले गोकुल बाँस्कोटा प्रकरणमा छानबिनको सवालमा अर्कै टिप्पणी गर्नुभएको छ । अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन्, अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ ।’
उनले यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन खोज्नुभएको त छैन् ? भनेर पनि आशंका व्यक्त गरे । ‘अडियो आएपछि उहाँले किन केही गर्नुभएन ? २ महिनासम्म के हेरेर बस्नुभयो ? उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भिर छ।’–उनले थपे ।
उनले वर्तमान सरकार अब दुई तिहाईको बलमा टिक्ने अवस्था नभएको पनि चित्रण गरे । उनले भने,‘हामी त सरकारको तमाशा हेरिरहेका छौं । यो व्यवस्था र संविधानमा नै खोट छ, पछिल्ला विभिन्न काण्डले त झनै व्यवस्था र संविधानमाथि प्रश्न खडा भएको छ । यो व्यवस्था र संविधान नै नेपाली जनताको हितमा छैन् । यो परिवर्तन हुनुपर्छ ।’