गृहमन्त्रीको सभामै भाजपाका कार्यकर्ताले लगाए ‘गोली हानौं’ को नारा
भारतीय गृहमन्त्री अमित शाहको र्यालीमा भारतीय जनता पार्टीका कार्यकर्ताले ‘गोली हानौं’ भन्ने नारा लगाएपछि तीन जनालाई आफूहरुले नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन्।
आइतबार बंगाल पुगेका अमित शाहलाई उनका पार्टीका कार्यकर्ताले स्वागत गर्दै र्याली निकालेका थिए। सोही क्रममा भाजपाका कार्यकर्ताले ‘गोली हानौं’ भन्ने नारा लगाएको प्रहरीको आरोप छ।
यस घटनापछि तृणमूल काँग्रेस, काँगे्रस आई तथा सीपीएम दलले भाजापाका कार्यकर्ताको नाराविरुद्ध कडा टिप्पणी गर्दै उनीहरुको आलोचना गरेका छन्।
यसबीचमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अमित शाह लक्षित आफ्नो भनाइ सार्वजनिक गर्दै भनेकी छिन्,‘यो बंगाल हो, दिल्ली होइन।’
ममता बनर्जी
बनर्जीले भाजपाका कार्यकर्ताको नारा हिंसा भड्काउने उत्तेजक खालको भएको प्रतिक्रिया जनाएकी छिन्। उनले बंगालको कानून र व्यवस्थाको स्थितीकोबारेमा कुरा गर्ने भाजपाका नेताले दिल्लीको हिंसा भड्काएको आरोप लगाउँदै देशको गद्दार भाजपाले नभएर जनताले फैसला गर्ने धारणा राखिन्।
गृहमन्त्रीको सभामा हिंसा प्रेरित नारा लाग्नु यतिबेला भारतमा लज्जाको विषय बनेको भनेर टिप्पणीहरु भइरहेका छन्।
हाल भारतमा नागरिकता कानूनलाई लिएर मुसलमान समुदायले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्। भाजपाका कार्यकर्ताले मुसलमान समुदायलाई गोली हानौं भन्ने अभिप्रायले त्यस्तो नारा लगाएको टिप्पणी भइरहेको छ।
गतहप्ताको सोमबारदेखि जारी हिंसामा हालसम्म ४२ जनाको मृत्यु भइसकेको छ। एजेन्सी