कोरोनाको सन्त्रास बढेसँगै संसद पनि सञ्चालन नगर्न माग
विश्वभर कोरोना भाइरसले त्रास फैलिएपछि समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद् बैठक पनि सञ्चालन नगर्न माग गरेका छन्।
कोरोना संक्रमणका लागि सार्वजनिक भेला सम्मेलन आयोजना नगर्न सरकारले आह्वान गरेको अवस्थामा संसद चलाउन नहुने माग गरेका हुन्।
‘कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ, डाक्टरहरु यसको उपाय सचेतना नै हो भनिरहेका छन्,’ उनले भने, ‘भीडभाडमा नजानू, भोजभतेर नगर्नू त भनियो, तर हामी सांसदले कति सावधानी अपनाएका छौं।’
संसदमा हेल्थ डेक्स नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘संसदमा हेल्थ डेक्स छैन, संसदभित्र प्रवेश गर्दा टेस्ट नगरी प्रवेश गर्छौँ। मानौं कुनै मन्त्रीजी या सांसदलाई संक्रमण भएको रहेछ भने हाम्रो संसदको हालत के होला ? कि पूर्ण तयारी गरेर संसद चलाऔं या बन्द गरौं।’