ट्रम्प र लिओको नमस्कार संसारभर भाईरल

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार १८:२८
;

यतिबेला संसारको मिडिया र सामाजिक सञ्जाल अमेरिकी राष्ट्रपति र आयरल्यान्डका प्रधानमन्त्रीको तस्बिरका कारण तातेको छ ।

कोरोनाभाइरसले संसारभर तहसनहस पारिरहेका बेला भाइरस सर्नबाट सतर्कता अपनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरादकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका छन्।

बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाएनन् । नमस्कार गरेका हुन्।
सेन्ट प्याट्रिक्स डेको एक दिनअघि आयरल्यान्डका सरकार प्रमुख अमेरिकी राष्ट्रपतिलाई भेट्न जाने परम्परा छ। ट्रम्पले नमस्कार गर्ने चलन भारत भ्रमणबाट सिकेको बताएका छन्। अमेरिकामा कोरोनाभाइरसबाट ३८ जनाको मृ’त्यु भएको छ भने संक्रमितको संख्या १३ सय पुगेको छ।

त्यस्तै चीनले ऊहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिइसकेको छ ।

तर कोरोना भाइरस चीनको ऊहानमा नै उत्पत्ति भएको कुरामा त्यहाँका विशिष्ठ व्यक्तित्व विश्वस्त हुन सकेका छैनन् । हालै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको बताएका छन् ।

प्रवक्ता जाओ लिजियानले अंग्रेजीमा ट्वीट गर्दै लेखे, ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ?’

झाओले उक्त महामारी ऊहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गरेका छन् । ‘पारदर्शी हुनुहोस् ! आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस् ! अमेरिका, हामीलाई विस्तृत विवरण चाहियो,’ उनले लेखे । एजेन्सी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*