लकडाउनको अवज्ञा गर्ने २१ जना प्रहरी नियन्त्रणमा

लकडाउनको अवज्ञा गर्ने २१ जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनको अवज्ञा गरी घरबाहिर निस्केका २१ जनालाई पक्राउ गरिएको बताएको छ ।
प्रहरीका अनुसार ९४ वटा मोटरसाइकल, एउटा अटो रिक्सा र २ वटा ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको बताएको छ ।
यता बारामा लकडाउनको अवज्ञा गर्ने ५ जना पक्राउ परेका छन् । अवज्ञा गरी चलाइएका ८४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले लकडाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने २ जना, मिठाई र चिया पसल खोल्न खोज्ने २ जना र नचलाउन आग्रह गर्दा जबरजस्ती मोटरसाइकल चलाउने १ जनालाई नियन्त्रणमा लिएको हो ।
लक डाउनको अवज्ञा गरी चलाईएका ८४ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
मंगलबार पनि धनुषा प्रहरीले लकडाउनको अवज्ञा गर्ने २६१ जनाको मोटरसाइकल, ११ वटा अटो रिक्सा, ७ वटा जीप तथा कार र चार वटा बस तथा ८ जना मानिसलाई नियन्त्रणमा लिएको थियो ।
बारामा लकडाउनको पहिलो दिन प्रहरीले ३ वटा ट्रिपर, ९ वटा ट्रक, २० वटा ट्याक्टर, ५ वटा जीप, ६ वटा बोलेरो, २ वटा स्कर्पियो, १ सय ६० वटा मोटरसाईकल गरी जम्मा २ सय ५ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।