विद्युत महसुलमा छुट दिने सरकारको तयारी

हेटौडा न्युज
१४ चैत्र २०७६, शुक्रबार २३:४५
;

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा छुट दिने भएको छ । प्राधिकरणले ३८ लाख ग्राहका लागि १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिने भएको हो । 

शुक्रबार ऊर्जा मन्त्रालयमा भएको बैठकले यस्तो निर्णय गरेको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रेगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनले बताए । 

लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको भनाइ छ ।

ग्यास बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङलाई प्रवर्द्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास व्यक्त गरे । 

मन्त्री पुनका अनुसार सबै उपभोक्ता एकैपटक ग्यासको विकल्पमा इलेक्टिङक कुकिङमा जान असम्भव भए पनि काठमाडौंसहित सहरी क्षेत्रबाट त्यसको सुरुआत गर्न सकिने विश्वास रहेको छ । 

३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो । 

नेपालमा १ मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्नेको संख्या अधिक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*