कोरोना संक्रमितका परिवारलाई एम्बुलेन्सले बोक्नै मानेन, आफूलाई अलपत्र छाडेको संक्रमित युवाको गुनासो
कोरोना भाइरसबाट संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका धनगढीका ३४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएसँगै प्रहरीले उनको पृष्ठभूमि खोज्न सुरु गरेको थियो ।
त्यसै क्रममा शुक्रबार रातितिर धनगढी उपमहानगरपालिका ५ मा रहेको उनको घरमा प्रहरी पुगेको थियो । प्रहरीले घरबाट उनको परिवार संख्यासहित आवश्यक रिपोर्ट लिएर अस्पताल लैजाने भनेको भए पनि एम्बुलेन्स नपाएको भन्दै प्रहरी उनको घरबाट फर्किएको संक्रमित युवाका बुवाले बताए ।
आठजना सदस्य रहेको उनको परिवारका सदस्यहरु दोहोरो तनावमा छन् । एकातिर छोरा अस्पतालमा छ । किरामीलाई सबैले चटक्क छाडेको खबरले उनीहरु छटपटिरहेका छन् । अर्कोतिर आफूहरुले क्वारेन्टाइनमा जान नमानेको भन्ने हल्ला फैलाइएकोमा दुःख लागेको ती युवाका बुवाले बताए । ‘एम्बुलेन्स पठाउँछौ भनेर प्रहरी घरबाट फर्किएका हुन्’ उनका बुवाले भने, ‘हिजोदेखि हामी अन्यौलमै छौ ।’ उनले शनिबार बिहानसम्म आफूहरु घरमै होसियारीपूर्वक बसेको बताए ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एम्बुलेन्स नपाएर परिवारहरुलाई अस्पताल ल्याउन नसकिएको भन्ने खबर सुनेपछि सेती प्रादेशिक अस्पतालमा सोधपुछ गरेको बताए । मेडिकल सुपरिटेन्डेन्टले एम्बुलेन्सको चालक अत्तरियामा रहेको आफ्नो घर गएको र शनिबार बिहानै फर्केर परिवारलाई अस्पतालमा ल्याइने जानकारी गराएको मन्त्री सुवेदीले बताए ।
उता बिरामी युवाले आफूलाई अस्पतालमा अलपत्र जस्तै पारिएको बताएका छन् । ती युवाले भने, ‘हिजोदेखि कोही पनि फर्केको छैन । तातो पानीसमेत पाइएको छैन ।’ डाक्टरले टेलिफोनबाट बारम्बार आफ्नो यात्रा पृष्ठभूमिबारे सोधपुछ मात्र गर्ने गरेको उनले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेसम्म उनको अवस्था सिरियस छैन । ‘उनलाई आईसीयूमा पनि राख्नुपर्ने अवस्था छैन,’ एकजना चिकित्सकले भने । तर डाक्टरहरुसमेत यतिबेला भयभित मानसिकतामा देखिन्छन् । कोरोना संक्रमित बिरामीको उपचार गर्ने क्रममा आवश्यक पर्ने आधारभूत पहिरन र उपकरणसमेत नभएको भन्दै उपचारमा संलग्न डाक्टरहरुले गुनासो गरिरहेका छन् ।
दुबईमा काम गर्दै आएका उनी फ्लाइट इमिरेट्सको ईके ०१५० नम्बरको उडानबाट दुबईबाट दिल्ली आएका थिए । त्यहाँबाट उनी शुक्रबार काठमाडौं आइपुगेका थिए । उनी शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आएका थिए । नेपालगञ्जबाट उनी महेन्द्रनगर जाने माइक्रोबाट अत्तरिया झरेका थिए । अत्तरियाबाट उनी त्यही दिन घर पुगेका थिए । घरान उनी आफन्त र नातागोतालाई भेटघाट गरेका थिए ।
शनिबार साँझदेखि मंगलबारसम्म उनी घरमै परिवारसँग बसेका थिए । घर पुगेको दोस्रो दिन राति ज्वरो आएपछि तेस्रो दिन चैत ११ गते उनी आफै सेती प्रादेशिक अस्पताल धनगढीमा जँचाउन गएका थिए । त्यही दिनदेखि उनी अस्पताल बसेका थिए । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।स्रोतः कान्तिपुरदैनिक