लकडाउनः ३ सय किलोमिटर दुरीको घरमा हिँड्दै जाने एक व्यक्तिको मृत्यु, घर पुग्ने सपना भएन पूरा

रतको राजधानी दिल्लीमा रेस्टुराँमा काम गर्ने ३८ वर्षीय एक व्यक्ति ३०० किलोमिटर टाढा रहेको घर पैदलै जाने क्रममा बाटैमा बितेका छन् । शनिवार बिहान दिल्ली–आगरा राजमार्गमा उनको मृत्यु भएको हो ।
रणवीर सिंह नामक ती व्यक्ति मध्य प्रदेशको मोरेना जिल्लामा रहेको एक दुर्गम गाउँमा बस्ने गर्थे । घर पुग्नुभन्दा १०० किलोमिटर वरै उनको मृत्यु भएको हो ।
उनले छाती दुख्यो भनेको अनि अलिक पर गएर ढलेको रणवीरसँग रहेका दुई पुरुषले प्रहरीलाई बताए ।
बन्दाबन्दीको घोषणापछि भारतमा एक लाखभन्दा बढी आप्रवासी कामदारहरू कामविहीन भई खाना र छानाका लागि आआफ्नो गाउँ फर्किरहेका छन् । त्यसरी फर्किने क्रममा भएको मृत्युको यो पहिलो घटना हो ।
रणवीर पनि रोजीरोटी गुमेपछि पैदलै हिँडेर घर जाँदै थिए ।
दक्षिणी दिल्लीमा रहेको तुगलकाबादमा रणवीर सिंह काम गर्ने रेस्टुराँ थियो अनि लकडाउनपछि त्यो बन्द भयो ।
बस तथा ट्रेनहरू बन्द गरिएपछि रणवीर हिँडेरै घर जान बाध्य भएका थिए । उनी ३०० किलोमिटर पर रहेको घर जान पैदलै हिँडेका थिए ।
रणवीर ढलेपछि एक स्थानीय पसले आए अनि उनलाई चिया र बिस्कुट दिए ।
प्रहरी घटनास्थलमा पुग्दा रणवीरको मृत्यु भइसकेको थियो । उनको शरीर पोस्टमोर्टमका लागि पठाइएको थियो ।
अटोप्सी गर्दा उनको मृत्यु हृदयघातका कारण भएको पत्ता लाग्यो । एजेन्सी











