कोरोनाको सन्त्रासः उपत्यका बाहिर यसरी छर्किदैछ किटनाशक औषधि

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार १९:२३
;

कोरोना भाइस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उपत्यका बाहिरका  जिल्लामा पनि किटनाशक औषधि छर्किन सुरु गरिएको छ। सरकारले स्थानीय तहलाई निर्देशन दिएअनुसार बढी भीडभाड हुने ठाउँमा क्लोरिनलगायत किटनाशक औषधि छर्न सुरु गरिएको हो।यसअघि काठमाडौं महानगरपालिकाले पनि नगरभित्रका विभिन्न भीडभाड हुने ठाउँमा किटनाशक औषधि छर्किन सुरु गरेको छ।

दैलेखमा किटनाशक औषधि छर्किदै

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दैलेखमा किटनाशक औषधि छर्न सुरु गरिएको छ।सरकारले स्थानीय तहलाई आ-आफ्नो क्षेत्रमा अनिवार्य क्लोरीनलगायतका किटनाशक छर्किन निर्देशन दिएको थियो।

सोहि अनुसार दैलेखको नारायण नगरपालिकाले नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखको सहयोगमा क्लोरीन छर्किन सुरु गरेको हो । सदरमुकाम दैलेख बजार क्षेत्रमा किटनाशक औषधि छरिएको नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखका गुल्मपति गणेशराज पन्तले जानकारी दिए । शुक्रवार निर्माण गरिएको आइसोलेसन कक्ष स्थल सरस्वती मावी तर्ताङ्गदेखि बजार क्षेत्र हुँदै काँडाचौर तथा यहाँका कार्यालय वरवर किटनाशक औषधि क्लोरीन छर्न थालिएको हो । क्लोरीन पानीमा मिसाएर दमकल मार्फत बजार क्षेत्रमा छर्किएको उनले बताए ।

बजारमा किटनाश औषधि क्लोरीन छर्किदै नेपाली सेनाको टोली। तस्बिर : हिक्मतबहादुर नेपाली

नारायण नगरपालिकाको दमकलसहित नेपाली सेनाको टोली क्लोरीन छर्कन खटिएको छ।नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले स्थानीयलाई घरमा बसेर सुरक्षित रहन आग्रह गर्दै आएका छन्। बजारमा किटनाशक छर्किन सुरु गरेपछि थोरै भएपनि यहाँका सबै साधरणले राहत महशुस गरेका छन्। 

मलंगवा र हरिवनमा पनि किटानाश छरिदै

मलंगवा : कोरोना भाइसर (कोभिड-१९) लगायत अन्य रोगका किटाणु मार्नका लागि सर्लाहीका मलंगवा नगरपालिका र हरिवन नगरपालिका कार्यालयले नगर भित्रका विभिन्न स्थानमा किटनाशक औषधि छर्न सुरु गरेको छ । 

बजार क्षेत्र र भीडभाड बढी हुने क्षेत्रमा हरिवनले किटनाशक औषध छर्न सुरु गरेको हो । मलंगवाले भने बजार, भेडभाड हुने क्षेत्र र नालामा औषधि छर्न सुरु गरेको छ ।  हरिवनले नगरपालिकाको दमकलबाट औषधि स्प्रे गर्न सूरु गरिएको हो । हरिवन बजार, नयाँरोड बजार, ताईवान बजार लगायत स्थानमा औषधि स्प्रे गर्न सुरु गरेको मेयर गणेश प्रसाईंले जानकारी दिएका छन् । त्यसैगरी मलंगवाले टोल टोलमा हाते मेसिनबाट औषधि छर्न सुरु गरेका छन् । 

हरिवन नगरपालिकाको बजार क्षेत्रमा किटनाशक औषधि छर्दै नगरपालिकाका कर्मचारी ।तस्बिर : सुनिल ठाकुर

अहिलेको मौसममा विभिन्न खाले भाइरल ज्वरो लाग्ने लगायत कोरोनाको संक्रमण फैलन सक्ने भएकाले किटनाशक औषधि छर्ने काम सुरु गरिएको हरिवनका मेयर प्रसाईंले जानकारी दिए। भीडभाड हुने स्थान, स्वास्थ्य संस्था, अत्यावश्यक सामग्री विक्री वितरण हुने स्थानमा स्प्रेको व्यवस्था मिलाइएको प्रसाईंले बताए । 

बेनीका सडकमा पनि औषधि छर्किदै

बेनी : कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न बेनकीका सडकमा पनि केमिकल छर्न सुरु गरिएको छ।बेनी नगरपालिकाको दमकल प्रयोग गरेर प्रहरीले भाइरस नष्ट गर्न क्लोरिन छर्किरहेको छ।तातोपानी, पोखरेबगर, बाबियाचौर र दरवाङको सडक र सार्वजनिक स्थलमा पनि क्लोरिन छर्किने योजना छ। स्रोतः अन्नपूर्णपोष्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*