बँदेलको आक्रमणबाट तीन जना घाईते, दुईको अवस्था गम्भीर
बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, रुब्दीमा घरमै बसिरहेका उनीहरूलाई बँदेलले आक्रमण गरेको हो । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
आक्रमणबाट घाइते भएकी ६५ वर्षीया चुमा भुसाल र ३२ वर्षीय बोमबहादुर घर्तीलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीय चुरामणि भट्टराईले जानकारी दिए ।
अर्का एक जना ३८ वर्षिय कल्लु चौधरी भने सामान्य घाइते रहेकाले उनको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको छ ।