चीनबाट ल्याइएको सामाग्री सरकारलाई हस्तान्तरण

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार २१:५८
;

कोरोना भाइरस रोकथाम एवं उपचारका लागि चीनबाट ल्याइएको सामाग्री सरकारलाई हस्तान्तरण गरीएको छ । चीनले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरीएको हो ।

चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले २४ हजार थान पुन प्रयोग गर्न नसकिने मास्क, २ हजार थान  एन नाइन्टी फाइब मास्क, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भेन्टीलेटर एक थान र क्वरेन्टीन टेबल ४ सय बक्सा उपलब्ध गराएको हो । 

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले  उपलब्ध गराएको एन नाइन्टी फाइभ मास्क १ लाख २ सय थान र पीसीआर टेस्ट किट्स २ हजार ६४ थान नेपाल सरकारलाई हस्तान्तरण गरीएको हो ।

चाइना सी ए एम सी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । 

२ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क सिन्चुवान हुसी ग्रुपले, होङ्गसी सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र  पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे चिनियाँ राजदूत यान्छीले कोरोना भाइरसको समस्या कुनै पनि एउटा देशको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो देश, नेपालसँगै अन्तराष्ट्रियस्तरमा नै सहयोग गर्न तयार रहेको बताइन् ।

सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोरोना भाइरसको रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा निकै सहयोगी हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*