कोरोनाको आशंकामा विरगञ्जका अस्पतालहरुले उपचार गर्न नमानेपछि एक यूवकको मृत्यु
उपचारको लागि काठमाडौं लैजादैं गर्दां एक युवकको मृत्यु भएको छ । कोरोना संक्रमणको आशंकामा वीरगञ्जका निजी तथा सरकारी अस्पतालहरूले उपचार गर्न नमानेपछि बाराको कलैया नगरपालिका वडा नम्बर-२२ धोधा टोलका २५ वर्षीय विजय कुशवाहाको मृत्यु भएको हो ।
घरमा काम गरिरहेका बेला मेसिनले खुट्टा काटेपछि विजय वीरगञ्जको नेसनल मेडिकल कलेजमा शनिबार भर्ना भएका थिए । उपचारका क्रममा उनलाई ज्वरो र सुख्खा खोकी लागेको थियो ।
भर्ना गरेको भोलिपल्ट खोक्दा मुखबाट रगत आएपछि डाक्टरले एक्सरे गरेका थिए । एक्सरेपछि कोरोनाको आशंका भएको भन्दै विजयलाई अस्पतालबाट डाक्टरले जबरजस्ती बाहिर निकालेको मृतकका बुवा मनोज कुशवाहाले बताए।
वीरगञ्जका अस्पतालहरूले विजयलाई उपचार गर्न नमानेपछि आफन्तहरूले एम्बुलेन्समार्फत् काठमाडौं लैजाने क्रममा आज बिहान करिब ३ बजे उनको बाटोमै मृत्यु भएको हो।
ती व्यक्तिको हात खुट्टा मेसिनले काटेको थियो । त्यसले गर्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको शिक्षण अस्पतालको स्रोतले जनाएको छ ।
थप अनुसन्धान भइरहेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।