एक हजार भारतीय नागरिक अलपत्र
वीरगञ्ज–रक्सौल नाकामा झण्डै एक हजारको संख्यामा भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट वीरगञ्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।
काठमाडौं, पोखरा लगायतका स्थानमा मजदुरी, व्यापार गर्दै आएका उनीहरु घर फर्कन लागेका हुन् । नेपालका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई त्यहाँका प्रशासनले भारत पठाउनका लागि वीरगञ्ज पठाएको हो ।
नाकास्थित मितेरी पुलमै आइतबार मध्यरातदेखि रोकिएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारततर्फ जान दिएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतमा २१ दिने लकडाउनको आव्हान गरिएको छ ।











