लकडाउन कार्यान्वयनमा रौतहट प्रहरीको कडाई
नेपाल सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनमा रौतहट प्रहरी कडाका साथ काम गरीरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्नेहरु विरुद्ध निकै कडाइका साथ प्रस्तुत हुन थालेको हो ।
प्रहरीले लकडाउनको सुरुवाती दिनमा बाहिर निस्कने तथा लकडाउन उल्लंघन गर्नेहरुलाई सम्झाउने काम गरेको तर सर्वसाधरणले निरन्तर रुपमा विभिन्न वहानामा लकडाउनको अवज्ञा गरेपछि रौतहट प्रहरीले निकै कडाइ गर्न थालेको छ ।
प्रहरीले सोमबार लकडाउन उल्लंघन गरेर सडकमा निस्किएकाहरुलाई सडकमा नै उठबस गराउने, पुसअप गराउने, जहाँको त्यहीँ उभ्याएर राख्ने लगायतका सजायहरु दिइरहेको छ । जिल्लाका कतिपय स्थानहरुमा बिना कारण सडकमा निस्किएकाहरुलाई प्रहरीले लाठीचार्ज पनि गर्ने गरेको छ ।
प्रहरीले बिरामी, औषधि किन्न हिडेकाबाहेक अरुलाई सडकमा निस्कन दिएको छैन भने एम्बुलेन्स र पास बाहेकका अन्य सवारी साधनहरुलाई पनि चल्न दिएको छैन । विना पास सडकमा निस्किएका सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।
स्थानीय प्रशासनले रौतहट जिल्लालाई पूरै सटडाउन गरेको छ । मेडिकल पसलबाहेक अन्य कुनै पनि पसलहरु खुलेका छैनन् भने विक्रेताहरुसँग सहकार्य गरेर उपभोक्तालाई घरमै खाद्यान्न पु¥याउने व्यवस्था पनि गरिरेको छ ।
जिल्लाका मुख्य राजमार्ग र चोकहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ग्रामीण इलाकाहरुमा पनि प्रहरीले नियमित रुपमा मोवाइल गस्ती गरीरहेको छ ।